रामेछाप २० कात्तिक । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले नेपाल प्रहरी चाडै नै समायोजन भएर प्रदेश मातहतमा आउने बताउनु भएको छ ।
सोमबार रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको इलाका प्रहरी कार्यालय बेथानको नब निर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । उहाँले सरकारले प्रदेश प्रहरी ऐन चाडै नै कार्यान्वयनमा ल्याएर समायोजनको काम गर्न लागेको बताउनु भयो । मन्त्री श्रेष्ठले ढिलोचाँडो प्रहरी समायोजनको बिकल्प नभएको बताउँदै यसका लागि मन्त्रालयले काम अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
सिमित श्रोत र साधनका बिचमा पनि नेपालको प्रहरीले प्रंससायोग्य काम गरेको बताउँदै मन्त्री श्रेष्ठले भौतिक पूर्वाधारका बिकासका साथ साथै अन्य क्षेत्रमा पनि प्रहरीलाई सक्षम बनाउन प्रदेश सरकारले विभिन्न काम गरिरहेको बताउनु भयो । प्रहरी र नागरीक दुवैलाई एक अर्काको सहयोग आवश्यक पर्ने बताउँदै मन्त्री श्रेष्ठले अपराध अनुसन्धान, विपत्त व्यबस्थापनसंग संगै जनताको समस्या समाधानका लागि टोलटोलमा पुग्न प्रहरीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद युबराज चौंलागाईं, सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छो तामाङ्ग, रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला, बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणा लगायतका बक्ताहरुले नब निर्मित भवनबाट नागरिकहरुमा पुग्ने सेवाहरुका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमा जग्गादाता तथा निर्माण कार्यमा उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई मन्त्री श्रेष्ठले सम्मान गर्र्नु भएको थियो । ४ करोड ६१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त २ तले भवनमा कार्यालय, हिरासत, व्यारेक, कार्यालय प्रमुख निवास तथा शौचालय र भान्साघर समेत रहेका छन् ।
यसैगरी आज नै मन्त्री श्रेष्ठले खाँडादेवी गाउँपालिकाको चोप्राङ्ग इलाका प्रहरी भवनको उद्घाटन गर्नु भएको छ । उक्त उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बिपत्त र अपराध नियन्त्रणमा प्रहरीले ठुलो योगदान गरेको चर्चा गर्नु भयो । कार्यक्रमा बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणा लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो । उक्त स्थानमा पनि ४ करोड ६१ लाख रुपैयाको लागतमा २ तले भवन बनेको हो । यस अगाडि अस्थाइ छाप्रोमा बस्दै आएका प्रहरीहरु अव सुविधा सम्पन्न भवन बसेर सेवा दिन सक्ने भएको रामेछापका प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताउनु भयो । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले जग्गादाता नारायण कार्कीको परिवार र निर्माण व्यबसायी नबराज ढुंगेल तथा उज्जल सुवेलीलाई सम्मान गर्नु भएको थियो ।