काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान त्रिवि शिक्षण अस्पतालमा पुुगेर कोरोना भाइरसबिरुद्धको खोप लगाएका छन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् ।
प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाएर दोश्रो चरणको खोप अभियानको उद्घाटन गरेका हुन् । दोश्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका बृद्धबृद्धाहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउन थालिएको हो । स्वास्थ्य मन्त्रालयले यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकहरुलाई कोरोना विरुद्धको खोप लगाउने जनाएको थियो ।
त्यस्तै कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज कोरोना खोव नेपाल आएको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज आएको खोप भारतको सिरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । यसअघि भारत सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अस्ट्राजेनेकाले नै उत्पादन गरेको भ्याक्सिन हो ।
त्यसैगरी नेपाल सरकारले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज फागुन ८ गते नेपाल आइसकेको छ । सरकारले अतिरिक्त ५० लाख डोज खोप किन्ने तयारीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।