रामेछाप । सदरमुकाम मन्थली बजारबाट दैनिक रुपमा निस्कने फोहोरले बजार नै प्रदुषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले सातजना युवाहरु मिलेर फोहोर कागज संकलन गरि प्रशोधित गरेर मोहोर कमाउन थालेपछि युवाहरु दङ्ग परेका छन् ।
सातजना युवाहरुले जनही १० लाखको दरले रकम संकलन गरेर ग्रिन हाइलाइट नेपाल प्राइभेट लिमिटेड नामको उद्योग दर्ता गरि उक्त उद्योगमा दर्जनौ युवाहरुलाई रोजगारी समेत प्रदान गरेका छन् । बजारबाट निस्कने फोहोरले बजार दैनिक रुपमा कुरुप बन्दै गएपछि उक्त फोहोर जन्य कागज, कार्टुन, किताव, कापी र पत्रिका लगाएतका कागजन्य फोहोर संकलन गरि प्रशोधन गरेर अन्डा राख्ने क्रेट निमार्ण गरि बिक्रीवाट युवाहरु मनग्गे आम्दानी गर्न सफल भएका हुन् ।
दैनिक निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा स्थानिय सरकारले कुनै पहल नगर्दा समस्या झेल्दै आएका मन्थलीका व्यवसायीहरुले त्यतीकै फाल्ने फोहोर संकलन गरेर पैसा कमाउन थालेको ग्रिन हाइलाइट नेपाल प्राइभेट लिमिटेडका संचालक जयराम मानन्धरले जानकारी दिए ।
फोहोरको उचित व्यवस्थापन अभावमा वातावरण प्रदुषण भइरहेको भन्दै युवाहरुले फोहोरका रुपमा फालिएका फोहोरका रुपमा फालिएका कागज, किताब, कापी, पत्रिका, कार्टुन लगायतलाई प्रशोधन गरी क्रेट बनाउने गरेका छन् । कम्पनीले कागजको गुणस्तर हेरी बजार क्षेत्रका व्यवसायी, कवाडी सामाग्री संकलकहरु र फोहोर उठाउने ठेकेदारसँग प्रति किलो ८ रुपैयाँसम्ममा खरिद गर्ने गरिएको उद्योग संचालक विश्वास श्रेष्ठले बताए ।
उनले भने– बजारमा दैनिक रुपमा निस्कनले फोहोरले बजार दुर्गन्धीत हुनथालेपछि हामी केही युवाहरु मिलेर यसलाई परिमार्जन गरि केके बस्तु निमार्ण गर्न सकिन्छ भनेर सल्लाह गर्यौं । अन्य जिल्लामा फोहोरवाट के कस्ता सामाग्रीहरु उत्पादन हुँदो रहेछ भन्दै चितवन पुगेका युवाहरुले वजारमा फालिएको फोहोर कागज संकलनवाट प्रशोधित गरि कार्टुन र अन्डा राख्ने क्रेट उत्पादन गरेको देखेपछि आफुहरुले पनि यो व्यवसाय आफ्नै जिल्लामा संचालन गरेको बताए ।
उद्योग संचालन भएपछि रामेछापवाट निस्कने कागजजन्य फोहोरले १० प्रतिशत मात्रै धान्ने भएकाले उद्योग संचालकहरुले छिमेकी जिल्ला दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक लगाएतका जिल्लाहरुवाट कागजजन्य फोहोर खरिद गरेर ल्याउने तयारीमा लागेका छन् । त्यस्तै उद्योगवाट अहिले दैनिक ३ हजार थान क्रेट उत्पादन हुने गरेको छ । उत्पादित क्रेट जिल्लामा खोलिएका कुखुरा फार्म र छिमेकी जिल्लाहरु र बढी कुखुरा पालिने जिल्लाहरु चितवन, काठमाण्डौं र तराइका विभिन्न जिल्लाहरुमा विक्री वितरण गर्ने तयारी संचालकहरुले गरेका छन् । अहिले उत्पादन गरेको क्रेट प्रति गोटा ५ देखी ७ रुपैयाँ रकम सम्ममा बिक्रीबितरण हुँदै आएको छ ।
गाउँमै उद्योग संचालन भएपछि सदरमुकाम आसपासका युवाहरुले रोजगारी समेत पाएका छन् । पहिला गाउँमा रोजगारी पाउन नसक्दा वैदेशिक रोजगारीको लागि जानु पर्ने वाध्यता थियो । अहिले गाउँमै खोलिएको उद्योगमा रोजगारी पाउँदा आफुलाई पैसा कमाउन बाहिर जानुपर्ने वाध्यता हटेको मन्थली नगरपालिका वडा नं ४ सालुका हेमराज काफ्लेले जानकारी दिए ।
उनले भने– पहिला गाउँमा रोजगारी पाउन गाह्रो थियो । रोजगारीकै लागि केही वर्ष मलेसिया बसेर बिदामा घर फर्किए । तर अहिले गाउँमै उद्योग संचालन भएपछि विदेशमा कमाउने पैसा गाउँमै कमाउन थालेपछि यहीँ बसे । दैनिक बिहान वेलुका घरको रेखदेख गर्न पाएको छु भने परिवारसँगै बस्न पाउँदा ज्यादै रमाइलो भएको काफ्लेले बताए ।