विराटनगर । कोसी प्रदेश सरकार आज पहिचानको माग गर्दै आन्दोलनमा रहेका पक्षधर सँग वार्ता बस्ने भएको छ । कोसी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिबिच आज वार्ता हुँदै छ । विग होटेल आज बिहान वार्ता हुन लागेको हो ।वार्ता समिति सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज बिहान पहिचान पक्षधरसँग औपचारिक वार्ता गर्न लागिएको जानकारी दिए ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिकमतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन् ।
सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको छ । वार्ता समिति सदस्यमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन् । उनीहरू विभिन्न पार्टी र जातीय सङ्घ संस्थाका प्रतिनिधि हुन् ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं. १ को नाम कोसी राखेपछि पहिचान पक्षधर नाम परिवर्तनको मागसहित आन्दोलनमा छन् ।