रामेछाप । रामेछाप नगरपालिकाले पैसा माग्न अनावश्यक भ्रम फैलाउने जो कोही भए पनि कार्वाहि गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा भनेको छ “धम्कीपूर्ण भाषा प्रयोग गरी पैसा माग्ने र पैसा दिन नसक्ने भने पछि अनावश्यक भ्रम फैलाउने गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह गर्ने जो कोही व्यक्ती भएपनी कानुन अनुसार छानबिन गरी कारबाही गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ“ यज्ञ ढकाल नाम गरेको एक जना व्यक्तिले मोबाइल नं. ९८५११०१२८५ बाट मिति २०८२ वैशाख २० गते बेलुकी ६ः०५ बजे नगरप्रमुखलाई फोन गरी रु ५० हजार माग गरेको थियो । नगर प्रमुख लबश्री न्यौपानेले उक्त रकम दिन नसक्ने जानकारी गराएपछि नगर प्रमुखलाई अख्तियारमा उजुरी गर्ने लगायतका विभिन्न धम्कीपूर्ण भाषा यज्ञ सापकोटा नाम गरेका व्यक्तिले सो मोबाइल नम्बर बाट प्रयोग गरेका थिए ।
सोही समयको आसपासमा नगरपालिकाले गरेका विकास निर्माण लगायतका कार्यहरूका सम्बन्धमा प्रश्न चिन्ह खडा गरी जनमानसमा भ्रम फैलाउने गरी सूचना सार्वजनिक गरेको भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ “ उक्त मितिमा निज र नगर प्रमुख बिच भएको टेलिफोन सन्वादको कल डिटेल समेत निकाली सम्बन्धित निकायबाट छानबिन गरी प्रचलित कानुन बमोजिम निजलाई कानुनी दायरामा ल्याउन नगरपालिका जोडदार माग गर्दछ । यस्ता खालका कुनै पनि प्रकारका निराधार र तथ्यहीन समाचारको विश्वासमा नपर्न साथै यस्ता गलत खालका समाचारहरू सुन्नमा आएमा नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि तथा कर्मचारीसँग आधिकारिक रूपमा बुझेर मात्र समाचारहरूको सम्प्रेषण गर्न र प्रतिक्रिया जनाउन समेत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौँ विज्ञप्तिमा भनेको छ” ।
प्रेस विज्ञप्तिमा भनेको छ “नगरपालिकालाई पोषणमैत्री नगर घोषणा गरिन लागेको सन्दर्भमा दूध, फुल, मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ चालु आ.व.२०८१÷०८२ मा उन्नत भैँसी प्रवर्द्धन कार्यक्रमका लागि नगरपालिकाबाट रु ३५ लाख बजेट विनियोजन भएको र बागमती प्रदेश सरकारबाट वडा नं २ र ३ का लागि सशर्त अनुदान अन्तर्गत सोही कार्यक्रममा रु १०÷१० लाख बजेट प्राप्त भएको हुँदा मिति २०८१÷ पौष ३ गते नगरपालिका बाट सूचना प्रकाशन गरी प्रस्ताव माग गरिएकोमा तोकिएको समय भित्र प्राप्त आवेदन उपर रामेछाप नगरपालिकाको उन्नत भैँसी प्रवर्द्धन कार्यविधि, २०८१ बमोजिम स्थलगत अनुगमन गरी नगर तर्फ ६२ जना र प्रदेश तर्फ २३ जना छनौट भएका व्यावसायिक कृषकहरूलाई मिति २०८१ चैत्र ०१ गते सम्झौताका लागि सूचना प्रकाशित गरिएकोमा मिति २०८२ वैशाख १६ गते तोकिएको म्याद भित्र सम्झौता गरी स्वयं कृषकले भैँसी खरिद गरी बिमा अभिलेखको आधारमा ५०५ लागत साझेदारी गर्ने गरी कार्यक्रम कार्यान्वयनमा रहेको एवं सो कार्यक्रमको भुक्तानीका लागि हाल सम्म कुनै पनि कृषकहरूले आवश्यक कागजात पेस गरिनसकेको हुँदा भैँसी प्रवर्द्धन कार्यक्रममा हालसम्म कुनै पनि रकम भुक्तानी नगरिएको जनाएको छ ।
त्यस्तै डिपिआरका सम्बन्धमा नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत भनेको छ चालु आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका वडा नं ८ स्थित झगरेचौर मेलमिलाप पार्क डिपिआर निर्माणका लागि राजविराज नगरपालिका वडा नम्बर ११, सप्तरीका कृष्णा टेण्ट हाउस र राज्यलक्ष्मी कन्सल्टेन्सीलाई ४,९२,६८०.२० (मु.अ कर सहित) मिति २०८१ फागुन १९ मा कार्यादेश दिइएकोमा उक्त कन्सल्टेन्सीबाट डिपिआरको काम भइरहेको र हाल सम्म कुनै रकम भुक्तानी नभएको । उक्त योजना भन्दा बाहेक अन्य कुनै पनि योजनाको लागि चालु आर्थिक वर्षमा डिपिआर नगरिएको भनी विज्ञप्ति जारी गरेको छ ।
