नवराज विकसहित ६ जनाको हत्या घटनामा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । रुकुमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या अभियोगमा संलग्नलाई जातिय छुवाछुत अभियोगमा सफाइ दिएको भन्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई कारबाही गर्न मागसहित नवराजका बुवा मोहनलाल विकसहित पीडित परिवारले उजुरी दिएका हुन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ६ जनाको हत्या अभियोगमा जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण विकसहित ६ जनालाई कुटपिट गरी मारेको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । २०८२ साल वैशाख १६ गते उच्च अदालत सुर्खेतले २३ जनाको जन्मकैद सदर गर्दै जातिय अभियोग कसुरमा सफाइ दिएको थियो ।