रामेछाप । मन्थली नगरपालिकाले निशुल्क मृर्गौला परिक्षण अभियान सम्पन्न भएको जनाएको छ । नगरपालिकाले शुक्रबार निशुल्क मृर्गौला परिक्षण अभियान नतिजा सार्वजनीकरण कार्यक्रमको आयोजना गरी मृर्गौला अभियान सम्पन्न भएको जनाएको छ । पुस ११ गते देखि फागुन मसान्त सम्म नगर पालिकाले ३१ स्थान बाट निशुल्क मृर्गौला परिक्षण अभियान सञ्चालन गरेको थियो । अभियानमा २० हजार ७ सय ९१ जनाले मृर्गौला परिक्षण गरिएको जनाएको छ ।
नगरपालिकाले राष्ट्रिय मृर्गौला उपचार केन्द्रको समन्वयमा उक्त अभियान संचालन गरेको थियो । अभियानको क्रममा पिसावमा डिपस्टीक डुवाएर मृर्गौलाको अवस्थाका बारेमा जानकारी लिइएको थियो । परिक्षणमा केन्द्रका अतिरीक्त नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सहभागि थिए ।
मृर्गौला परिक्षणको तथ्याङक शुक्रबार नगरपालिकाले सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार परिक्षण गराएका मध्ये २ हजार १ जनालाई मृर्गौला सम्बन्धी कुनै न कुनै समस्या देखिएकोले थप परिक्षणका लागि पठाइएको थियो । जिल्लामा उपलव्ध ल्यावमा थप परिक्षण गराउन पठाएका मध्ये १ हजार जतिले दोश्रो पटक परिक्षण गराएका र ति मध्ये २८ जनालाई उपचारका लागि काठमाण्डौं रेफर गरीएको थियो ।
६ बर्ष भन्दा माथि उमेर समूहका करिव ३५ हजार नागरिकको मृर्गौला परिक्षण गर्ने लक्ष्य लिइएकोमा ओमिक्रोानका कारण अभियानलाई प्रभावित पारेको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले वताए । नगर प्रमुख रमेशकुमार वस्नेतले मृर्गौलाको अभियानको रुपमा निशूल्क परिक्षण गराउने मुलुकमै पहिलो स्थानीय तह हुन पाएकोमा गर्व गर्दै अभियानलाई निरन्तरता दिने वताए । कार्यक्रममा मृर्गौला उपचार केन्द्रका प्रमुख डाक्टर ऋषिकुमार काफ्लेलाई कदरपत्र द्वारा सम्मान गरीएको थियो ।