रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिका प्रमुखका उम्मेदवार जित बहादुर कटुवालले गाउँपालिकाको नीतिगत अनियमितता रोक्न नेपाली कांग्रेसले जित्नै पर्ने बताएका छन् । गाउँपालिकामा एमालेले कागजपत्र मिलाएर नितिगत भ्रष्टचार गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेसले जित्नै पर्ने बताएका छन् ।
कांग्रेस उम्मेदवार कटुवालले देशमा संघीयता आएपछि सबै जनतालाई लागेको थियो समृद्ध गाउँ बन्छ भन्ने तर त्यसो हुन सकेन । समृद्ध गाउँ बनाउने सङ्कल्प सहित देशमा पहिलो पटक २०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा उमाकुण्ड गाउँपालिकाका जनताले समृद्धिको यात्रा सुरु भएको देख्न नपाएको बताए । उनले भने बरु पाँच वर्षे कार्यकालमा जनताले नीतिगत अनियमितताको श्रृंखला मात्रै देख्न पाए । मैले यो माथी उल्लेख गरेका शब्दहरु सुन्दा चुनाव जितेका साथीहरुलाई र अघिल्लो निर्वाचनमा मत दिने मतदाताहरुलाई नमिठो लाग्न सक्छ । तर, यर्थाथ यहि हो कि विगतको पाँच वर्षमा विकासको बहानामा बढी अनियमितता मात्रै भयो कटुवालले भने ।
कटुवालले भने फेरि नीतिगत भ्रष्टचार भन्दै गर्दा खै प्रमाण भन्ने प्रश्न उठ्न सक्छ । प्रमाणको रुपमा नेपाल सरकारकै आधिकारिक संस्था महालेखापरीक्षकको कार्यालयको तीन वर्षको वार्षिक प्रतिवेदन हेरे पुग्छ । आर्थिक वर्ष २०७४÷०७५ मा तीन करोड ६३ लाख ६५ हजार , आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड ७९ लाख दश हजार र आर्थिक वर्ष २०७६÷०७७ मा ५ करोड २० लाख ४९ हजार बेरुजु आएको छ ।
बेरुजुको अर्थ हुन्छ ‘उपलब्ध स्रोत र साधनलाई नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता नै बेरुजु हो ।’
तीन वर्षको लेखापरीक्षणको हिसाब हेर्दा झण्डै साढे दश करोड भन्दा बढी रकमको अनियमितता भएको देखिन्छ । यो सबै कामको नेतृत्व गर्ने गाउँपालिकाको अध्यक्षा हुनुहुन्थ्यो नेकपा एमालेबाट निर्वाचित शेर बहादुर सुनुवार । अब फेरि उहाँकै नेतृत्वमा नेकपा एमालेबाट निर्वाचित पुरानै वडाध्यक्षहरु बैशाख ३० गते हुने निर्वाचनमा पनि उहाँ आफूसहित उम्मेद्वार हुनुहुन्छ । पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा झण्डै साढे दश करोड रकम अनियमितता गर्नेलाई नै नेतृत्वमा ल्यायौँ भने गाउँपालिकाको अवस्था के होला ? यो प्रश्न सबै मतदाताले आफूलाई एक पटक सोध्न जरुरी छ कांग्रेस उम्मेदवार कटुवालले भने ।
त्यसकारण नीतिगत रुपमा करोडौ अनियमितता गर्नेलाई हैन यस पटक अनियमितताको विरुद्धमा बोल्ने काँग्रेस पार्टीबाट उम्मेद्वार रहेका हामी जस्ता युवाहरुले जित्नु आवश्यक छ । म र मेरो नेतृत्वमा भएको टिमले पालिकामा जित्यो भने उमाकुण्ड गाउँपालिकामा भएका स्रोत तथा साधनलाई नियमितता, मितव्ययिता र प्रभावकारिताका साथ आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिता बनाउँदै सुशासन कायम गर्ने प्राण गर्ने कटुवालले बताए । उनले भने गाउँपालिकामा म र मेरो नेतृत्वमा रहेको टिम निर्वाचित भएमा बेरुजु शून्य बनाउने कामबाटै आफ्नो कार्यकाल सुरु गर्ने आम मतदाताहरुमा प्रतिवद्धता जनाएका छन् ।