रामेछाप । लोकसेवा आयोगमा नायव सुुब्बा र खरिदार पदमा परीक्षा दिन चाहने दलित तथा जनजाती महिलाहरुलाई लक्षित गरि मन्थली नगरपालिकाले १५ दिने निःशुल्क तयारी कक्षा संचालन गरेको छ ।
नगरपालिकाले संञ्चालन गरेको तयारी कक्षामा नगरपालिका भित्रका ४५ जनाको सहभागीता रहेको छ । बेरोजगार दलित तथा जनजाती युवतीहरुलाई दिगोरुपमा स्थायी जागिर खान मद्धत पुुगोस् भन्ने हेतुले उक्त तालिमको आयोजना गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।
मन्थली नगरपालिकाका दलित तथा जनजाति महिलाहरुले यसअघि पनि लोकसेवा परीक्षा दिएर पनि असफल भएका र केही नयाँ अनुहारका महिलाहरु उक्त तालिममा सहभागी भएका छन् । पन्ध्र दिनसम्म संचालन हुने उक्त तालिमको सोमवार मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले उद्घाटन गरेका हुन् ।
तालीम उद्घाटन गर्दै प्रमुख वस्नेतले निजी क्षेत्रमा मात्रै हैन सरकारी क्षेत्रमा प्रवेश गर्न लागि परेका दलित तथा जनजाति महिलाहरुलाई यो तालिमले ठूलो सहयोग पुुग्ने अपेक्षा लिएको जानकारी दिए । उनले भने– यसअघि कुनै तयारी कक्षा नै नलिईकन पनि नगरभित्रका केही महिलाहरुले नाम निकालेर अहिले सरकारी कार्यालयमा कार्यरत रहेका छन्, भने केही परीक्षाको तयारीमा समेत लागेका छन् । यस तालिमले सहभागी महिलाहरुलाई लोकसेवा परीक्षामा नाम निकाल्न निकै सहयोग पुुग्ने विश्वास व्यक्त गरे ।
एकहप्ता अघि रामेछाप नगरपालिकाले पनि नगरपालिका भित्रका ५० जना युवायुवतीहरुलाई निःशुुल्क १५ दिने लोकसेवा तयारी कक्षा संचालन गरेको थियो । नगरपालिकाले संचालन गरेको लोकसेवा तयारी कक्षामा युवायुवतीहरुले सक्रियता सहभागीता जनाएका थिए । जिल्लामा संचालन भएका विभिन्न संघसंस्थामा आवद्ध भएका युवायुवती परियोजना सकिएसँगै बेरोजगार बन्दै जाँदा अहिले स्थायी रुपमा सरकारी जागिरतर्फ आर्कषित भएका हुन् । युुवायुुवतीहरुले स्थायीरुपमा जागिरको लागि लोकसेवा तयारी गर्दै आएका छन् ।