काठमाण्डौं । नेपाल विद्यार्थी संघ संस्थापन इतर पक्षको बुधबार बसेको भेलाले विभिन्न १४ बुँदे माग सहित ध्यानाकर्षण पत्र जारी गरेको छ । भेलाले बिधि सम्मत तरिकाले सहमति, सहकार्य र एकताका आधारमा १२ औ महाधिबेशन सुनिश्चित गराउने लगायतका माग राखेर १४ बुँदे घोषणा पत्र जारी गरेको नेविसंघ केन्द्रीय सदस्य निशाल घिमिरेले जानकारी दिए ।
घिमिरेले भने“नेबिसंघको बिधि र बिधानलाई मिचेर गरिएका कुनै पनि जिल्ला समिति र क्याम्पसका इकाई समितिहरुको नियुक्तिहरुलाई खारेज गर्नु पर्छ । बिधि सम्मत तरिकाले सहमति, सहकार्य र एकताका आधारमा १२ औ महाधिबेशन सुनिश्चित गर्नु पर्छ । संगठनलाई तदर्थवादबाट चलाइनु र संगठनलाई विधिविधान विपरीत मनोमानी ढङ्गले व्यक्तिगत स्वार्थमा लागि चलाउन हुन्न् । सिङ्गो संगठनलाई बन्धक बनाइनु नेवि संघमा आबद्ध सम्पुर्ण बिद्यार्थीको राजनितिक भावनामाथिको ठाडो प्रहारहो । यसले नेपालको सिङ्गो विद्यार्थी आन्दोलनको इतिहासमाथिको कुठाराघात भएको छ घिमिरेले भने ” नेतृत्वको गतिविधिले संघको विधिविधानलाई तिलाञ्जलि दिने, सिङ्गो संगठनको गरिमालाई धमिल्याउने र संगठनको अस्तित्व कोमामा पुग्ने परिस्थिति निर्माण भइरहेको भन्दै इतर समुहले गम्भीर चिन्तासहित ध्यानाकर्षण व्यक्त गरेका छन् ।
देशभरका जिल्ला, विश्वविद्यालय र आङ्गिक क्याम्पसहरूमा तत्काल संगठन भित्रको आन्तरिक सहमतिका आधारमा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि पठाएर विधिवत् क्याम्पस, विश्वविद्यालय र जिल्ला अधिवेशनको वातावरण बनाउन अध्यक्षको ध्यानाकर्षण गराउने समेत निर्णय भेलाले गरेको छ । साथै आफ्ना मागहरुको वेवास्ता गरेको अवस्थामा देशभरका नेविसंघ विद्यार्थीको भेला बोलाएर नेविसंघ केन्द्रीय कार्यसमिति गठन गर्ने समेत चेतावनी संस्थापन इतर पक्षले दिएको छ ।










