काठमाण्डौं । नेवाः÷तामाङ भाषा बागमती प्रदेशमा आजबाट सरकारी कामकाजी भाषाको रुपमा लागु हुदैं छ । बागमाती प्रदेश सरकारले आजबाट औपचारिक रूपमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी काम काजको भाषाको रुपमा कार्यान्वयन गर्न लागेको हो ।
गत असोज २२ गते बागमती प्रदेश सभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोही अनुसार वैशाख २४ (आज) बाट ऐन कार्यान्वयनमा ल्याउन लागिएको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलगायत संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । साथै प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।