रामेछाप । नेपाली काँग्रेस प्रदेश सभा ‘क’ रामेछापको कार्यालय लिखुतामाकोशी गाउँपालिका–६ खिम्तिमा स्थापना गरिएको छ । शनिबार बसेको नेपाली काँग्रेस प्रदेश सभा–क रामेछापको दोस्रोे बैठकले कार्यलय उद्घाटन गर्नको साथै कोषाध्यक्ष र प्रवक्ता समेत चयन गरेको छ । पार्टी कार्यालय नेपाली काँग्रेस लिखुतामाकोशी ६ खिम्तीका जेष्ठ सदस्य एवं जेष्ठ नागरिक भुमीराज खड्का र लक्ष्मी प्रसाद दाहालले संयुक्त रुपमा उद्घाटन गरेको प्रवक्ता कृष्णदाश सुनुवारले जानकारी दिए ।
बैठकले कोषाध्यक्षमा चेत बहादुर खड्का र प्रवक्तामा कृष्णदाश सुनुवारलाई चयन गरेको हो । सभापति निरोज खड्काले कोषाध्यक्षमा खड्का र प्रवक्तामा सुनुवारको नाम बैठकमा प्रस्ताव गरेपछि दुबै जना सर्वसम्मत चयन भएका हुन् ।
कोषाध्यक्षमा चयन भएका खड्का खस आर्यतर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए भने प्रवक्ता चयन भएका सुनुवार जनजाति तर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
बैठकमा सभापति खड्काले कुमार तामाङ (टसी लामा) लाई प्रदेश सभा क्षेत्रीय सदस्यमा मनोनित गरेका छन् । निर्वाचित कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने अधिकारलाई प्रयोग गर्दै तामाङलाई सदस्यमा मनोनित गरिएको प्रवक्ता सुनुवारले जानकारी दिए ।
बैठकमा रामेछाप प्रदेश सभा (क) क्षेत्रबट प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस बागमती प्रदेश सदस्यमा निर्वाचित उज्वलराम घिमिरे, भिमशेन बस्नेत र कल्पना खड्कालाई प्रदेश सभा क्षेत्रीय कार्यसमितिको तर्फबाट बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिइएको छ ।
रामेछाप प्रदेश सभा (क) क्षेत्रको पहिलो बैठकमा प्रदेश सभा (क) भित्र रहेका ३२ वटा वडा भित्र टोल समिति गठन गर्न परिपत्र गरिएको र दोस्रो बैठक सम्ममा २० वटा वडामा टोल समिति गठन गरिसकिएको र बाँकी वडाहरुमा समेत टोल समिति गठन गर्ने कार्य भइरहेको बैठकमा जानकारी गराइएको बताइएको छ ।