नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते काठमाडौँको नयाँ बानेश्वरमा सम्पन्न बैठकले पार्टीको आन्तरिक राजनीति र भावी निर्वाचन केन्द्रित स्पष्ट राजनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। बैठकले दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको निर्णयलाई स्वागत गर्दै यसलाई विधान, विधि र लोकतान्त्रिक अभ्यासको विजयका रूपमा व्याख्या गरेको छ।
केन्द्रीय समितिले यस प्रक्रियालाई कुनै व्यक्ति वा समूहको जित–हारको विषय नभई नेपाली कांग्रेसको संस्थागत लोकतन्त्रको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेको छ। विशेष महाधिवेशनमार्फत भएको परिवर्तनमा भूमिका निर्वाह गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीप्रति बैठकले हार्दिक आभार व्यक्त गरेको छ।
बैठकले वर्तमान समयलाई नेपाली कांग्रेसका लागि एकता, सद्भाव र सहकार्यको निर्णायक घडीका रूपमा चित्रण गरेको छ। देश तथा विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका पार्टी समितिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ आउँदो फागुन २१ गते हुने निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिएको छ।
त्यसैगरी, विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहनु भएका तथा कुनै समय पार्टी छाड्नु भएका नेता, कार्यकर्ता र समर्थकहरूलाई पुनः नेपाली कांग्रेसमा जोडिन बैठकले हार्दिकतापूर्वक आह्वान गरेको छ। कांग्रेस सबैका लागि खुला, समावेशी र लोकतान्त्रिक पार्टी भएको सन्देश दिँदै विगतका असहमति र दूरीलाई भुलेर साझा लक्ष्यका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ।
बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा लगायत नेपाली कांग्रेसको नेतृत्वमा रहँदै लामो समयदेखि पार्टी, लोकतन्त्र र संविधानको पक्षमा योगदान पुर्याएका नेताहरूको भूमिकाको उच्च कदर गरेको छ। साथै, आगामी दिनमा पनि श्रद्धेय नेताहरूको अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरिएको छ।
राजनीतिक दृष्टिले महत्वपूर्ण निर्णयस्वरूप नेपाली कांग्रेसले आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पुनः दोहोर्याएको छ। अब कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने स्पष्ट अडान सार्वजनिक गर्दै पार्टी सधैं मूल्य, मान्यता र सिद्धान्तमा अडिग रहने जनाएको छ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने, नवयुवा पुस्ताको आकांक्षा र जनताको अपेक्षा साकार पार्ने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ।
केन्द्रीय कार्यसमितिले यो समयलाई नेपाली कांग्रेसका लागि रुपान्तरण, एकता र विजयको नयाँ अध्यायको सुरुआतका रूपमा चित्रण गर्दै समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिन सबैमा अपिल गरेको छ।









