रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।
दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। श्रद्धाञ्जली कार्यक्रमपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको जनाइएको छ।
यसअघि नेपाली कांग्रेसका सभापति गगन थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गर्नुभएको थियो।










