रामेछाप । नेपाल पत्रकार महासङ्घको विवाद टुङ्गिएको छ । भक्तपुरमा भएको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले विवाद टुङ्ग्याउँदै मङ्सिर २८ गते अधिवेशन गर्ने निर्णय गरेको छ । पटक–पटक मिति तोक्दै स्थगित हुँदै आएको नेपाल पत्रकार महासङ्घको निर्वाचनको पछिल्लो मिति शनिवार तोकिएको हो ।
नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेले मध्य राति सकिएको राष्ट्रिय भेलाले मङ्सिर २८ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए । नयाँघरेका अनुसार सदस्यताको विषयमा शाखाको कार्य समितिले निर्णय गरी सर्वसम्मत टुङ्गो लगाएर प्रदेशमा पठाएका र प्रदेशले सर्वसम्मत थप गरी पास गरेका सदस्यता कायम गर्ने निर्णय भएको जनाएको छ ।
जिल्लाले पठाएको तर प्रदेशले हटाएको नामहरूमा भने जिल्लाकै निर्णय अन्तिम निर्णय हुने भेलाले निर्णय गरेको छ । सदस्यता विवाद भएका शाखाहरूको हकमा महासङ्घ केन्द्र, प्रदेशका प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले टुङ्गो लगाउने निर्णय गरेको गरेको छ । सदस्यता सम्बन्धी सबै विवाद कार्तिक मसान्तसम्म टुङ्गो लगाइसक्ने निर्णय भेलाले गरेको छ ।