काठमाडौँ ः नेपाले आज मलेसियामा जारी टी–ट्वान्टी शृङ्खलामा कुवेतसँग खेल्दै छ । नेपाली महिला क्रिकेट टिमले कुवेतसँग मलेसियाको बायोमास क्रिकेट मैदानमा मध्याह्न पौने १२ बजे खेल्दै छ ।
प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले मङ्गलवार सम्पन्न खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा ८५ रनको लक्ष्य पाएको नेपालले १५ ओभर एक बलमा ८७ रन बनाउँदै पहिलो जित हात पारेको थियो।
कुवेत पहिलो खेलमा मलेसियासँग हार बेहोर्दै नेपाल विरुद्ध मैदान उत्रन लागेको हो । मलेसियासँग कुवेत ८ विकेटले पराजित भएको थियो । आजै हुने पहिलो खेलमा मलेसिया र हङकङ आमने सामने हुँदै छन् । यी चार टिमले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यासका लागि सिरिज खेलिरहेका हुन् ।
यो सिरिजलाई आइसिसीले टी–ट्वान्टी आई को मान्यता दिएको छ । सिरिजमा सम्मिलित चार टिममध्ये उत्कृष्ट दुई टिमले फाइनल खेल्ने छन् ।