रामेछाप । जिल्लामा असल सहकारी संस्थाको रुपमा छबी बनाएको नबजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत संकलनमा जाँदा बचत कर्तालाई घर–घरमै दैनिक रसिद दिन शुरु गरेको छ ।
उक्त संस्थाले शेयर सस्यहरुलाई सेवामा सहजताको लागि दैनिक बजारमा बचत संकलन गर्न जाँदा सदस्यले राखेको पैसाको जानकारी लिन सहज होस् भन्ने उद्देश्यले संस्थाका कर्मचारीहरुले ट्यावलेट मार्फत रसिद प्रदान गर्न थालेका हुन् । यसरी जिल्लामा पहिलो पटक ट्याबलेट मार्फत बचतकर्तालाई घर–घरमै रसिद दिन शुरु गर्ने पहिलो संस्था भएको नबजागरण बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रमेश उदासले जानकारी दिए ।
उनले भने– हामीले नयाँ प्रविधि भित्राएर ट्यावलेट मार्फत बचतकर्ता सदस्यलाई बचत गरेको रकमको ठाउँको ठाउँ रसिद दिन थालेका हौं । यसअघि बचत कर्ताको पासबुक मात्र हुँदा रकम जम्मा गरे गरिन भन्ने दुविधा सदस्यमा हुने गरेको थियो । अहिले संस्थाका कर्मचारीले बचत लिन जाँदा सदस्यलाई रसिद दिन थालेपछि उनीहरुलाई ढुक्क हुने गरेको छ ।
संस्थामा हालसम्म ७ हजार ९ सय ८५ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाको कुल शेयर पूँजी ४ करोड ५७ लाख २ हजार २ सय रहेको छ । त्यस्तै जगेडा कोष ५ करोड ५८ लाख २४ हजार ३ सय ८४ रुपैयाँ रहेको । संस्थाको कुल बचत निक्षेप ४० करोड ७३ लाख २८ हजार ३ सय १३ रुपैयाँ रहेको छ भने कूल संस्थागत पूँजी ५ करोड ६५ लाख ८९ हजार ९० रुपैयाँ रहेको छ । हालसम्म नबजारगण बचत संस्थाको कुल सम्पति ५७ करोड ४५ लाख ४५ हजार ७६ रुपैयाँ रहेको सो संस्थाले जनाएको छ ।