रामेछाप । रामेछाप नगरपालिका जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ। बाल संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका ५१ वटा सूचक पूरा गरेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार आयोजित विशेष समारोहमा यो घोषणा गर्नुभयो।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले भन्नुभयो, “यो घोषणा नगरको ठूलो उपलब्धि हो, यसको दिगोपनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्न आवश्यक छ। प्रदेश सरकारले यसलाई निरन्तर सहयोग गर्नेछ।”
उहाँले बालमैत्री पालिकाको सफल कार्यान्वयनका लागि स्थानीय निकाय, समुदाय, नागरिक समाज र अन्य सरोकारवालाहरू सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, बागमती प्रदेश सरकार बालमैत्री स्थानीय शासन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशभित्रका सबै पालिकालाई बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा गर्न आग्रह गर्नुभयो।
मुख्यमन्त्री बानियाले भने, “प्रदेश सरकारले यसका लागि आवश्यक सहयोग र सहकार्य गर्न सधैँ तयार छ। बाल अधिकारको संरक्षण, बाल विकास र सहभागिताको सुनिश्चितताका लागि हामी सबै मिलेर अघि बढ्नुपर्छ।” उहाँका अनुसार, बालमैत्री स्थानीय शासनको कार्यान्वयनले नगरपालिकामा बाल अधिकार सुनिश्चित गर्न मात्र नभई स्थानीय प्रशासनको पारदर्शिता, सहभागीता र दिगोपनामा पनि मद्दत पुर्याउनेछ।









