काठमाडौं । मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बताएको छ । मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव हुन् ।
गत ३१ असारमा बसेको केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारीमा रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो । त्यसपछि १० साउनमा बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई नै मुख्य सचिव बनाउने निर्णय गरेको थियो । गड्तौलापछि डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार छन् ।