मेरो प्रदेश डेक्स
मन्थली, भाद्र १०
रामेछापको सदरमुकाम मन्थलीमा पार्किङसहितको सुविधासम्पन्न र बहुउद्देश्यीय सभा हलको निर्माण हुने भएको छ ।
जिल्ला समन्वय समितिको पहलपछि सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् पाँच सय जना अट्ने क्षमताको सभा हल बन्ने भएको हो ।
२०८२ असार १३ गते भक्तपुरको ‘जीएसएस आर–योन्जन बिल्डिङ जेभी’ सँग ठेक्का सम्झौता भई २०८३ पुस १६ गते सक्ने गरी सभाहल निर्माण हुने भएको जिल्ला समन्वय समितिले जनाएको छ । भ्याटसहित रु ५ करोड ४१ लाख २५ हजार १८१ रुपैयाँ २७ पैसामा ठेक्का सम्झौता भइ बन्न लागेको सभाहलमा सभा सम्मेलनका साथै भलिबल, ब्याट्मिन्टन जस्ता इन्डोर खेलकुद गर्न सकिने छ । त्यस्तै भूमिगत पार्किङमा साना सवारी साधन पार्किङ गर्न मिल्ने जिल्ला समन्वय समिति उपप्रमुख प्रेम बहादुर थापाले बताए ।
पुरानो हलका संरचना हटाएर सोही ठाउँमा नयाँ सभाहल निर्माण सुरु भएको उनले जानकारी दिए । “बहुबर्षिय आयोजना अन्तर्गत सो भवन बन्नेछ । ” उनले भने “निर्माण कम्पनी फिल्डमा आएर काम सुरु गरिसकेको छ ।”
निर्माण कार्यलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्न सोमबार जिल्ला समन्वय समितिले सरोकारवालाहरूसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ तथा अन्य सरकारी र गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकमा सबैले समयमै काम सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभा हल निर्माणपछि जिल्लामा हुने सार्वजनिक कार्यक्रमका लागि स्थानको अभाव र अव्यवस्थित पार्किङको समस्या टर्ने जिसस उपप्रमुख थापाले बताए ।











