रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्नो दशौँ नगरसभामा ५ वर्षको समिक्षा गरेको छ । ५ वर्षमा नगरपालिकाले गरेको कामको समिक्षा पछी पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ । पत्रकार सम्मेलन गरि मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफूहरु निर्वाचित भएर आएको पाँच वर्षको अवाधिमा विभिन्न चुनौतिका बीच पनि धेरै काम गरेको बताएका छन् ।
बुधरवार सम्पन्न दशौँ नगरसभा पश्चात पत्रकारहरुसँग कुरा गर्दै नगर प्रमुख बस्नेतले आफूहरु निर्वाचित भएर आएको पाँच वर्षको अवधिमा सयौँ चुनौतीकाबीच पनि नागरिकले महसुस गर्ने गरी काम गरेको बताएका छन् । नगर प्रमुख बस्नेतले दशौँ नगरसभा सम्म आइपुग्दा सार्वजनिक सेवा प्रवहा देखि भौतिक पूर्वाधार निर्माण सम्मका काममा धेरै उपलब्धी हाँसिल गरेको बताएका छन् ।
नगरप्रमुख बस्नेतले नगरपालिकाकले पाँच बर्षमा भवन निर्माण गरी आफ्नै प्रशासनिक भवनबाट सेवा सुचारु गरेको बताएका छन् । आफूहरु निर्वाचित भएर आउँदा भाडाको घरबाट सेवा सुरु गरेको नगरलाई अहिले नगरको आफ्नै अत्याधुनिक प्रशासनिक भवनबाट सेवा सुरु गर्न थालिएको बस्नेतले बताए ।
वडा कार्यालय नभएका वडाहरुमध्ये ३ वटा वडाको भवन निर्माण कार्य सम्पन्न गरिएको र बाँकी वडा कार्यालयहरु पनि आगामी आर्थिक वर्ष २०७९÷८० संघीय समपुरक अनुदानबाट निर्माण गर्ने गरी स्रोत सुनिश्चित गरिएको बस्नेतले जानकारी गराए । त्यस्तै गरी ३ वटा आधारभूत स्वास्थ्य केन्द्रहरुको भवन निर्माण कार्य सम्पन्न भइसकेको बताएका छन् । वडा न १२ र १४ को हस्तान्तरण भई सेवा प्रवाह शुरु भइसकेको समेत बताएका छन् । वडा नं ३ को भवन हस्तान्तरणको चरणमा रहेको जानकारी दिए । त्यस्तै गरी नगर प्रमुख बस्नेतले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको मन्थली अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण सम्पन्न भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख बस्नेतले नगरपालिकाले आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरुमा राजश्व संकलनमा उल्लखनीय रुपमा वृद्धि भई आन्तरिक राजश्व संकलनमा लक्ष्य अनुरुप प्रगति उन्मुख रहेको बताएका छन् । बस्नेतले आन्तरिक राजश्ववाट रु ३,३०,००,००० आम्दानी हुने पूर्वानुमान गरिएकोमा पौष महिनाको २५ गते मम्म रु १,७६,४६,१८५÷७७ आम्दानी भएको उल्लेख गरे । बस्नेतले आन्तरिक राजश्वको महत्वपूर्ण स्रोत अन्तर्गत रहेको ढुँगा, गिट्टी र वालुवाको ठेक्का पट्टाको कार्य समयमा सम्पन्न भएको बताएका छन् । अनुमान अङ्क भन्दा कवोल अङ्क २२,००,००० ले वढी रहेको छ । पार्किङ्ग तथा पटके कर लगायतका ठेक्काहरु समयमा सम्पन्न गरिएको समेत बस्नेतले दाबी गरे ।
पत्रकार सम्मेलनमा नगरप्रमुले नगर प्रमुख आवास, कोसेली घर र कृर्षी गोदाम घरको निर्माण सम्पन्न भएको बताएका छन् भने प्रदेश सरकारको सहयोगमा चिस्यान केन्द्र र आपतकालिन सेवा केन्द्रको निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको चरणमा रहेको जनाएको छ ।
नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई छिटो र प्रविधि मैत्री बनाउनको लागि अनलाइन घटनादर्ता, राजश्व संकलन, सामाजिक सुरक्षा भत्ताको अभिलेख अद्यावधिक गर्ने जस्ता कार्यलाई व्यवस्थति बनाएर सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी एवं जन सहभागितामूलक बनाउने प्रयास गरिएको नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । त्यस्तै वित्तीय जवाफदेहिता, पारदर्शिता, प्रभावकारिता, मितव्ययिता, नियमितता तथा कार्यदक्षतालाई समेत सहयोग पुग्नेगरी पराम्परागत रुपमा म्यानुअल लेखाङ्कन तथा अभिलेखन व्यवस्थापनलाई विस्थापित गरी स्थानीय संचितकोष व्यवस्थापन प्रणाली अनलाईन सफ्टवेयर सञ्चालनमा ल्याई एकीकृत आय–व्यय तथा अन्य वित्तीय प्रतिवेदन गर्न थालिएको बस्नेतले बताए ।
नगर प्रमुख रमेश कुमार बस्नेतले हालसम्म नगर भित्र संघ, प्रदेश र नगरपालिका समेतको लगानीमा ६४.९७६ किलोमिटर सडक कालोपत्रे गरिएको र ३५.९४३ किलोमिटर सडक ग्राभेल तथा सोलिङ्ग गरिएको दावी गरेका छन् । बाह्रै महिना सञ्चालनमा आउन नसकेका वडा कार्यालय जोड्ने सडक निर्माण र स्तरउन्नोति गर्न नगर भित्रका मुख्य सडकहरु मध्ये मन्थली सुनारपानी सालु, भुत्याखोला टेकनपुर कठजोर ठाटी सडक, चिसापानी गेलु सिक्राल सडक, चिसापानी पुरानाँगाउँ सडक, चिसापानी चनखु सडक, देविटार फुलासी सडक, आकासेपुल भटौली सडक, मन्थली भलुवाजोर सडक र मन्थली सानी मदौ राहालटार सालु सडक कालोपत्रे गर्ने कार्य शुरु भई क्रमागत योजनाको रुपमा स्थापित गरिएको नगर प्रमुख बस्नेतले जानकारी गराए ।
नगर भित्रका सुखाग्रस्त वडाहरुका रुपमा रहेका वडालाई समेत ध्यानमा राखी वडा भित्र रहेका स–साना मुहानहरुको संरक्षण र सम्वर्धन गर्दै संघीय सरकार र प्रदेस सरकारको समन्वय र सहकार्यमा तामाकोशीको पानीलाई लिफिट्ङ प्रणलीबाट खानेपानीको व्यवस्था गर्न वडा नं २, ४, ५, ६, ७, ११, १२ र १३ मा खानेपानी आयोजनाहरुको कार्य प्रारम्भ गरिएको नगर प्रमुख बस्नेतको भनाई रहेको छ ।
नगरपालिकाका सकारात्मक कार्यहरुको यथार्थ सन्देश जनता सामु पुर्याउन योगदान गर्ने सञ्चारगृह र सञ्चारकर्मीहरुलाई नगरपालिकाको सञ्चार क्षेत्र, एंव कला सस्कृति तथा साहित्यका क्षेत्रमा योगदान पुर्याउनेहरुलाई अक्षय कोष मार्फत सम्मान तथा पुरस्कृत गर्न शुरुवात गरिएको बताएका छन् । जिल्ला सदरमुकाममा अवस्थित मन्थली वजारलाई सुरक्षित गर्ने अभिप्रायले मुख्य मुख्य स्थानहरुमा ५० भन्दा वढी सि. सि क्यामराहरु जडान गरी निगरानी कक्ष जिल्ला प्रहरी कार्यालयमा राखी मन्थली वजारलाई सुरक्षित सहरको रुपमा विकास गर्ने प्रत्यन भइ रहेको जनाएको छ ।
नगरपालिकाले पाँच लाख सम्म पूँजी भएका उद्योगहरु नगरपालिकाबाटै दर्ता गर्ने, नगरपालिका क्षेत्रभित्र काम गर्ने सहकारी संस्थाहरुलाई सूचिकृत गराई अभिलेख ब्यवस्थित गर्ने र स्थान, उद्देश्य र कारोवार समान भएका सहकारी संस्थाहरुको एकीकरण गर्ने कार्यको सुरुवात गरी तीन खम्वे अर्थ नीति अनुरुप निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै युवा व्यवसाहीको व्यवसायलाई प्रवर्द्धन गर्न युवा उद्धम कार्यक्रम सञ्चालनमा ल्याइएको नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । त्यस्तै पशुपालनमा नश्ल सुधार (कृत्रिम गर्भाधाण) को कार्यक्रम र पशु आहारामा प्रयोग हुने उन्नत जातका विउ, वेर्ना, सेट्स र दुध उत्पादनमा आधारित अनुदान वितरण गर्नुका साथै दुध र मासुमा आत्म निर्भर हुने वातावरण निर्माण गरिएको पनि नगर प्रमुखले बताए ।
आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउने उद्धेश्यका साथ शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिएको र आगमी शैक्षिक सत्रमा विद्यालय उमेरका बालवालिकाहरु विद्यालय बाहिर नरहेको सुनिश्चितता घोषणाको तयारी भइरहेको नगर प्रमुखले बताए । उनले हाल कक्षा १–८ मा ५–१२ उमेर समूहका बालबालिकाहरुमध्ये ९५% भन्दा बढी बालबालिकाहरु विद्यालय भर्ना भएकाले आधारभूत तह (१–८) को शिक्षालाई पूर्ण निःशुल्क बनाइएको धारणा राखे । त्यस्तै ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने अभियान अनुरुप विद्यार्थी संख्या न्यून भएका विद्यालयहरुलाई समायोजन एवं कक्षा घटुवा गरी विद्यार्थी संख्या र सञ्चालित कक्षाको आधारमा हरेक वर्ष दरबन्दी मिलानको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको बताए । त्यसैगरी मन्थली नगरभित्र अवस्थित मन्थली माध्यमिक विद्यालय मन्थलीमा सञ्चालित विज्ञान धारमा कक्षा ११ र १२ मा अध्ययन गर्ने नगरबासी ३२ जना बालबालिकाहरुलाई निःशुल्क अध्ययन गर्न गराउन सहयोग गरिएको बताए ।
मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको मन्थली अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण सम्पन्न गरिसकिएको र त्यसलाई संचालनको लागि प्रक्रिया अगाडि बढाइसकिएको बताए । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनको सन्दर्भमा कोभिड प्रभावित १ सय ५८ जनालाई उपचार गरिएको बताउँदै हालसम्म १८ वर्ष भन्दा माथि उमेर समूह मध्ये १६ हजार ८ सय ३५ जनाले पूर्ण मात्रा खोप लगाइसकिएको बताए । त्यसतै १२ वर्षदेखि १७ वर्ष उमेरसम्म मध्ये ४ हजार ७३ जनालाई खोप लगाइसकिएको पनि नगर प्रमुख रमेश कुमार बस्नेतले बताए ।
त्यस्तै नगरपालिका भित्रका सम्पूर्ण नागरिकहरुको रोगको समय मै पहिचान गराई समय मै उपचार गरी गम्भिर रोगबाट बच्न सहज होस भन्ने उद्देश्यले ‘स्वस्थ मृगौला स्वस्थ मन्थली’ अभियानका रुपमा निःशुल्क मृगौला परीक्षणको गरिएको र हाल सम्म करिव १७ हजार नागरिकको मृगौला परीक्षण गरिएको बताए । बाल विवाह, लैगिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी नगरलाई बाल विबाह मुक्त नगरको रुपमा स्थापित गर्ने वातवरण निर्माण गर्दै हाल हिंसा पीडितको तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि अल्पकालीन सेवा केन्द्रको स्थापना गरिएको नगर प्रमुख बस्नेतले बताए ।
नगर प्रमुख बस्नेतले नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनस्थापनाका कार्यमा जोड दिइ नगर भित्र रहेका दमकल, एम्वुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राखिएको र हाल त्यस्ता घटना न्यूनिकरणमा सहयोग पुगेको बताए । त्यस्तै वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुसगँको समन्वय र सहकार्यमा वृक्षारोपण, संरक्षण र सम्वर्द्धनका कार्यक्रमहरु सञ्चालन गरी वातावरण मैत्री नगर निर्माणमा जोड लागी परेको पनि उनले बताए ।