मेरो प्रदेश डेक्स
मन्थली, भाद्र ७
रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा शनिबार निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुधनको सुरक्षामा सहयोग पुर्याउने उदेश्यले नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्य समिति, रामेछापद्वारा आयोजित शिविर सम्पन्न भएको हो ।
समितिकाका सहसचिव सुमन गिरीले शिविरबाट १ सय ८० जना किसान लाभान्वित भएको जानकारी दिए । उनले शिविरमा ५ सय ३० भन्दा बढी पशु–वस्तुलाई उपचार तथा औषधि सेवा उपलब्ध गराइएको बताए । शिविरमा ८५ भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।

पशुपन्छीमा रोगको रोकथामसँगै न्यूनीकरणका लागि उपचार परामर्श उपलब्ध गराई पशुपालनलाई प्रवर्धन गर्न शिविर आयोजना गरिएको समितिले जनाएको छ । शिविर मन्थली नगरपालिकाको कार्यालय, पशु सेवा कार्यालय सिन्धुली र वडा कार्यालय चनखुको सहकार्यमा भएको हो ।









