रामेछाप । प्रदेशसभा सदस्य पदमा उम्मेदवार वनेका मन्थली नगरपालिकाका निर्वतमान मेयर एवं एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेशकुमार वस्नेतलाई मतदाताले लज्जास्पद मत दिएका छन् ।
रामेछापको प्रदेशसभा “क” तर्फको मतगणनाको अन्तिम मतपरिणाम अनुसार वस्नेतले लज्जास्पद मत प्राप्त गरेका हुन् । उनले उमाकुण्ड गाउँपालिकामा २१० मत, गोकुलगंगा गाउँपालिकामा १९१ मत, लिखुतामाकोशी गाउँपालिकामा २८० मत, मन्थली नगरपालिकामा ६९२ मत र रामेछाप नगरपालिकामा ७१५ मत गरि कुल २ हजार ८८ मत प्राप्त गरेका छन् ।
२०७४ को स्थानिय तहको निर्वाचनमा उनी नेकपा एमालेको तर्फवाट मन्थली नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । मन्थली नगरपालिकाको प्रमुख पदमा बसेर बागडोर सम्हालेका बस्नेत नगरको प्रमुख हुँदाहुँदै उनी नेकपा एमाले पार्टी छाडेर एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । वस्नेत हाल सो पार्टीको जिल्ला अध्यक्ष समेत रहेका छन् ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा अन्य जिल्लाहरुमा सत्तासिन पार्टीहरु एक ढिक्का भएर चुनावी प्रतिस्पर्धामा उत्रिए पनि रामेछापमा भने लोकतान्त्रीक बामगठवन्धन बाहेक समाजवादी पार्टीले आफ्नो छुट्टै उम्मेदवार तयार गरि चुनावी मैदानमा पठाएको थियो । चुनावी मैदानमा उत्रिएका प्रतिनिधिसभा सदस्य एवं प्रदेशस सभा सदस्य दुवै पदका उम्मेदवारहरुले अपेक्षा अनुसारको मत प्राप्त गर्न नसकेको स्पष्ट देखिन्छ ।
मतगणना जारी रहदै गर्दा उनले बुधवार राती जिल्लाका आम मतदाताको रोजाइमा आफु नपरेको भन्दै पार्टी जिल्ला अध्यक्ष पदवाट राजिनामाको घोषणा सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका थिए । अघिल्लो दिन सामाजिक सञ्जालमा पोष्ट गरेको उक्त स्टाटस बस्नेतले भोलीपल्ट बिहानै हटाएका थिए ।










