रामेछाप । जिल्लाकै नमुना सामुदायिक विद्यालयको नामले कहलिएको मन्थली माध्यमिक विद्यालयमा रिक्त रहेको प्रावि शिक्षक पदमा भर्ना गर्दा ऐन नियम विपरित शिक्षकको नाम र ठेगाना तोकेरै २४ घण्टे पत्राचार गरेर भर्ना गरेपछि अभिभावकहरु आक्रोसित बनेका छन् ।
मन्थली माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवराज घिमिरेको पदावधि सकेर जागिर छाडेपछि उक्त रिक्त रहेको पदमा कुन शिक्षक भर्ना गर्ने भन्ने बिषयमा विद्यालय व्यवस्थापन समितिको गिद्दे नजर परेको थियो । यसअघिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रुवकुमार कार्की रहेको समिति अवैद्यानिक ठहर गरेर उक्त समिति भङ्ग गरेपछि मन्थली नगरपालिकाले श्याम सुवेदीको अध्यक्षतामा तर्दथ समिति गठन गरेको थियो ।
सोही तर्दथ समितिका अध्यक्ष सुवेदीले अभिभावकहरुको भेला डाकेर नयाँ ब्यवस्थापन समिति गठन गराउनुुको सट्टा विद्यालयमा रिक्त रहेको शिक्षक पदमा आफ्नो पहुँच देखाउँदै शिक्षक भर्ना तर्फ लागेका हुन् । उनले स्थानिय दक्ष शिक्षकहरु हुँदाहुँदै ती शिक्षकहरुलाई बाहिपास गर्दै शिक्षा ऐन नियमत विपरित शिक्षकको नाम, ठेगाना र विद्यालय किटान नै गरेर २४ घण्टा भित्र विद्यालयमा हाजिर हुन निर्देशन सहितको पत्र काटेर शिक्षक भर्ना गरेपछि यो विषयले अहिले अभिभावक र स्थानिय शिक्षकमा खैलाबैला उत्पन्न भएको छ ।
तर्दथ समितिका अध्यक्ष सुवेदीले स्थानिय शिक्षकलाई प्राथमिकता नै नराखी कालिका माध्यमिक विद्यालयका अग्रेजी शिक्षक भोलाजङ्ग थापालाई मन्थली माध्यमिक विद्यालयमा २४ घण्टा भित्र हाजिर हुनु भन्दै पत्रचार गरेर भर्ना गराएका थिए । मन्थली माविले पठाएको पत्रको आधारमा कालिका माविले थापालाई रमाना दिएपछि उनी मन्थली माविमा हाजिर भएका हुन् । स्थानिय दक्ष शिक्षकहरु हुँदाहुँदै बाहिरबाट शिक्षक ल्याएर भर्ना गर्नु र इतिहासमा नै नभएको २४ घण्टे अल्टीमेटम दिएर शिक्षक भर्ना गर्नु नितान्त आपत्तिजनक भएको मन्थली नगरपालिका–१ का अभिभावक पूर्ण बहादुर सुवेदीले जानकारी दिए ।
उनले भने– अहिलेको विद्यालय व्यवस्थापन समिति भनेको तर्दथ समिति मात्रै हो । यो समितिले शिक्षक भर्ना गर्नु भन्दा पनि नयाँ व्यवस्थापन समिति गठन गर्न तर्फ ध्यान दिनुुपर्ने थियो । त्यसको वेवास्ता गर्दै विद्यालयमा अन्य शिक्षकहरु हुँदाहुँदै आफ्नो पदावधि हुँदै शिक्षक भर्ना गर्ने जुन मनसाय अहिलेको व्यवस्थापन समितिले गर्यो यो नितान्त दुुःखद कुुरा भएको अभिभावक सुवेदीले बताए ।
यता मन्थली माध्यमिक विद्यालयमा रिक्त रहेको पदमा काम गर्न पाउनु पर्ने भन्दै स्थानिय शंकर सुवेदी, टाेलानाथ सुवेदी, सिर्जना सुवेदी र प्रतिमा सुवेदी लगाएतका अन्य केही दक्ष शिक्षकहरुले विद्यालय व्यवस्थापन समितिसँग माग राखेका थिए । तर त्यसको वेवास्था गर्दै विद्यालय व्यवस्थापन समितिले बाहिरवाट शिक्षक ल्याएर भर्ना गरेपछि स्थानिय शिक्षक र अभिभावक व्यवस्थापन समितिसँग रुष्ट बनेका हुन् ।
विद्यालयमा रिक्त रहेको शिक्षक भर्ना गर्ने बिषयमा बसेको व्यवस्थापन समितिको बैठकले २४ घण्टे पत्र थमाएर भएपनि थापालाई नै नियुक्ती गर्ने भन्ने निर्णय गरेकाले थापा नियुक्त भएको मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए । उनले भने– केही स्थानिय शिक्षक साथीहरु, केही अभिभावकहरु र केही विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले शिक्षक भर्ना गर्दा प्रध्यानाध्यापकको हात रहेको छ भन्ने जुन आरोप म माथी लागेको छ । त्यो आरोप सरासर गलत छ । शिक्षक भर्ना गर्ने बिषयमा मेरो कुनै हात नभई सबै विद्यालय व्यवस्थापन समितिले नै गरेको प्रअ दाहालले बताए ।