‘मिस ग्रान्ड नेपाल २०२५’ को प्रशिक्षण सत्र हाल पनि जारी छ। प्रतिस्पर्धीहरूलाई आत्मविश्वास, प्रस्तुति कला, सञ्चार क्षमता र नेतृत्व विकासमा सशक्त बनाउने उद्देश्यसहित राजधानीमा प्रशिक्षण कार्यक्रम सञ्चालनमा रहेको छ।
यही सन्दर्भमा हालै प्रशिक्षण हलमा अतिथिका रूपमा मिस पबी ( पवित्रा सखी ) सहभागी भइन्। उनले प्रतियोगीहरूसँग अन्तरक्रिया गर्दै जीवनका चुनौतीहरूबाट नडराउन र सधैं अगाडि बढ्न प्रेरणा दिइन्। “जस्तोसुकै परिस्थितिमा पनि हार मान्नु हुँदैन,” उनले भनिन्, “सम्भावना आफ्नै भित्र लुकेको हुन्छ, त्यसलाई पहिचान गर्नुहोस् र विश्वासका साथ अगाडि बढ्नुहोस्।”
मिस पबीको सहभागिताले प्रशिक्षणमा सहभागी युवतीहरूमा नयाँ उत्साह थपिएको देखिन्थ्यो। उनीहरूले मिस पबीसँग फोटो, भिडियो र टिकटक बनाउँदै आफ्नो खुसी साटासाट गरे।
मिस ग्रान्ड नेपालका निर्देशक राम केसीले यस्ता प्रशिक्षण सत्रहरूमा विभिन्न क्षेत्रका सफल र प्रेरणादायी व्यक्तित्वहरूलाई ल्याएर प्रतियोगीहरूलाई हौसला दिने र केही नयाँ सिकोस भन्ने उद्देश्य रहेको बताए। “हामी प्रशिक्षणलाई केवल सौन्दर्य प्रतियोगिता सीमित नराखी, जीवन विकासको यात्राको रूपमा लिने प्रयासमा छौं,” उनले भने।
प्रशिक्षण सत्रका आगामी दिनहरूमा अन्य विशिष्ट अतिथिहरूको पनि सहभागिता गराइने आयोजकहरूले जनाएका छन्।