काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि अल्झिरहेको गेटा मेडिकल कलेजलाई छिट्टै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालन गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालय सञ्चालनका लागि कुनै बाधा नरहेको स्पष्ट पारे । उनका अनुसार, आवश्यक विधेयक संसदबाट पारित गर्ने काम अन्तिम चरणमा पुगेको छ र त्यससँगै संरचना निर्माण तथा पदाधिकारी नियुक्ति अघि बढाइनेछ ।
‘अहिले छ वटा प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन्, तर बाँकी रहेको एक मात्र प्रदेशमा स्थापना गर्नु हाम्रो दायित्व हो,’ मन्त्री पौडेलले भने, ‘यसलाई राष्ट्रिय आवश्यकता र स्वास्थ्य क्षेत्रको अपरिहार्य पूर्वाधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता छ ।’
उनी अनुसार विगतमा संघ र प्रदेशबीचको अधिकारसम्बन्धी विवादका कारण गेटा सञ्चालनमा ढिलाइ भएको थियो । ‘३०० शैय्यामा विस्तार गरेर मेडिकल कलेज सुरु गर्ने तयारी भए पनि विवादले काम अघि बढ्न सकेन,’ उनले स्मरण गरे, ‘तर अब यो विवादको विषय होइन, जनताको आवश्यकता हो ।’
गेटालाई आफ्नो पहिलो प्राथमिकताको परियोजनाका रूपमा राखेको उल्लेख गर्दै मन्त्री पौडेलले आफ्नो कार्यकालमै विश्वविद्यालयलाई पूर्णरूपमा सञ्चालन गर्ने जिकिर गरे । उनले चासो देखाएपछि अस्पतालमा बिरामीको चाप पनि बढेको बताए । ‘पहिले दैनिक ५० जना बिरामी आउँथे, अहिले दैनिक ३०० जना बिरामी उपचारका लागि आउने गरेका छन्,’ मन्त्री पौडेलले दाबी गरे ।









