काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ ।
५ चैतमा सर्वोच्च अदालतको गेटबाट हतियार सहित प्रसाईंका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरेको थियो ।
सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा उल्लेख छ ।
देशभर हतियारको इजाजत पत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको जनाएको छ ।