रामेछाप । रामेछाप भित्र पर्ने मध्यपहाडी राजमार्गको ४५ किलोमिटर सडक निमार्ण गर्ने जिम्मा लिएका निमार्ण व्यवसायीले सम्झौता गरेको समयसिमामा सम्पन्न गर्न नसक्दा दैनिक ४० हजार रुपैयाँ जरिवाना तिर्दै सडक निमार्णमा जुटेका छन् ।
रामेछापभित्र पर्ने मध्यपहाडी सडक खण्डको काम गर्ने गरि निमार्ण व्यवसायीले २०७३ साल असारमा आयोजना कार्यालयसँग ठेक्का सम्झौता गरि निमार्ण कार्य शुरु गरेका थिए । मध्यपहाडी राजमार्ग अन्तर्गत रामेछाप सुनकोशी नदि किनार हुँदै छिमेकी जिल्ला काभ्रेको चौरीखोलासम्म जोड्ने सडकको कामको जिम्मेवारी लिएका निमार्ण व्यवसायीहरुले समयमा काम सम्पन्न गर्न नसक्दा उक्त सडकको काम दुईवर्ष ढिला भएको छ ।
रामेछाप भित्र पर्ने मध्यपहाडी राजमार्गको ४५ किलोमिटर सडक निमार्णको ट्रयाक खोल्ने काम २०७६ सालभित्रै सम्पन्न गरिसक्ने गरि ७२ करोड रुपैयाँको लागतमा निमार्ण व्यवसायीहरुसँग सम्झौता भएको थियो । सडक निमार्ण गर्ने जिम्मेवारी पाएका काष्ठमण्डम निमार्ण सेवा, सिद्धबाबा आधार निमार्ण सेवा, वन्धन भगवती जेभी र मध्यदान कन्ट्रक्सन कम्पनीले आयोजनासँग ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौता गर्ने कम्पनीमध्ये काष्ठमण्डम निमार्ण सेवा कम्पनीले तोकिएको समयमा १०.२ किलोमिटर सडकको काम सम्पन्न गरि आयोजना कार्यालयलाई हस्तान्तरण गरेको छ । बाँकी निमार्ण व्यवसायीहरुले ठेक्का सम्झौतापछि आयोजना कार्यालयसँग सम्पर्क विहिन भएर बसेपछि आयोजनाको काम प्रभावित भएको थियो ।
आयोजना कार्यालयसँग सम्र्पक बाहिर रहेका निमार्ण व्यवसायीको समयसिमा सकिएपछि कार्यालयले धमाधम व्यवसायीको फर्म कालोसूचिमा निकाल्न थालेपछि व्यवसायीले प्रतिनिधि पठाएर काममा जुटेका हुन् । मध्यपहाडी आयोजना कार्यालयसँग निमार्ण व्यवसायीले सम्झौता गरेअनुसारको काम समयमा पुरा गर्न नसक्दा अहिले दैनिक ४० हजार जरिवाना तिरेर भएपनि उक्त काम पुरा गर्न आफु लागि परेको सिद्धबाबा आधार निमार्ण सेवाका प्रतिनिधि हरीविक्रम थापाले जानकारी दिए ।
उनले भने– निमार्ण व्यवसायीको सानो लापरवाहीको कारण अहिले यतिधेरै रकम तिर्नु परेको छ । कम्पनीले जिम्मा लिएको १४ किलोमिटर सडक मध्ये धेरै ठाउँमा भिर र ढुङ्गाको चट्याङ् भएका कारण ब्लाष्टिङ नगरी उक्त सडक निमार्ण गर्न समस्या छ । जसरी भएपनि जे–जती सकिन्छ आफुले जिम्मेवारी लिएको काम एक महिनाभित्र पुरा गरेर आयोजना कार्यालयलाई हस्तान्तरण गर्ने गरि काम तिव्र गतिमा अघि वढाएको व्यवसायी थापाले बताए ।
निमार्ण व्यवसायीले ठेक्का सम्झौता गरेपछि समयमा काम सम्पन्न नगरेपछि रामेछापका स्थानिय युवाहरुले निमार्ण समयमा सक्न निमार्ण व्यवसायीहरुलाई दवाव सिर्जना गरेका छन् । केही युवाहरुले निर्माणको क्रममा परेका समस्याहरुको समाधान गर्न निमार्ण व्यवसायीहरुसँगको समन्वयमा अधुरा कामहरु पुरा गर्न लागि परेको युुवा व्यवसायी अक्षयकुमार खत्रीले जानकारी दिए । उनले भने– जसरी पनि आफ्नो जिल्लाभित्रको काम समयमा सम्पन्न गर्नुपर्छ भन्ने हिसाबले हामीहरु पनि लागि परेका छौं ।
ठेक्का सम्झौता गरेर आयोजना कार्यालयसँग सम्र्पक बिहिन भएर बसेका निमार्ण व्यवसायीको फर्मलाई आयोजना कार्यालयले कालोसूचिमा राख्ने सूचना निकालेपछि जरिवाना रकम तिरेर अहिले धमाधम रोकिएको कामले गति लिएको हो । कार्यालयले धेरै पटक निमार्ण व्यवसायीलाई ताकेता गर्दा पनि निमार्ण व्यवसायीहरुले वेवास्ता गर्ने, मोवाइल स्वीच अफ गरेर सम्र्पकमा नै नआउने जस्ता समस्याले गर्दा तोकिएको समयमा आयोजनाको काम पुरा हुन नसकेको मध्यपहाडी आयोजनाका सुपरभाइजर टेकराज पौडेलले जानकारी दिए ।
उनले भने– आयोजनाको अहिलेसम्म अनुमानित करिव ६० करोड रुपैयाँ खर्च भइसक्दा ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी दशप्रतिशत काम आउने २०७८ सालभित्र सम्पन्न गरिसक्ने गरी काम युद्ध स्तरमा भइरहेको छ । आयोजनाले २०८० सालसम्म सवै सडकको काम सकेर नेपाल सरकारलाई बुझाउने गरि कामलाई तिव्रता दिएको सुपरभाइजर पौडेलले बताए ।
रामेछाप भित्र पर्ने ४५ किलोमिटर सडक मध्ये नर्वदेश्वर त्रिवेणी मन्दीर वाट कोथवेसम्मको १४ किलोमिटर सडक निमार्णको लागि टेण्डर आव्हान भइसकेकाले उक्त काम पनि चाडै सम्पन्न हुने अपेक्षा आयोजना कार्यालयले लिएको छ । रामेछाप भित्रको सडक आगामी २०७८ सालसम्म ट्रयाक ओपन गरिसक्ने र ८० सालभित्र कालोपत्रे गरीसक्ने गरी काम भइरहेको आयोजना कार्यालयले जनाएको छ ।