रामेछाप, असार ७ — माझी समुदायको परम्परागत संस्कार र सांस्कृतिक अभ्यासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मन्थली नगरपालिका–८ चिसापानीस्थित गाईखुरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति प्रतिष्ठानको साझेदारीमा माझी जागरण केन्द्र मन्थली–८ द्वारा आयोजित कार्यक्रममा स्थानीय सरकार, समुदायका अगुवा र विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रह्यो।
कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले मन्थली नगर क्षेत्रभित्र रहेका विविध जातजातिका मौलिक संस्कार र सांस्कृतिक सम्पदाको संरक्षणमा नगरपालिका कटिबद्ध रहेको बताउँदै समाजको विविधता नै हाम्रो साझा पहिचान भएको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहबाटै संस्कार र संस्कृति संरक्षणको प्रयास थाल्दा मात्र सामाजिक सहअस्तित्व सुदृढ बन्न सक्छ।”
संस्कृतिविद् डा. कृष्णभट्ट चन्द र नेपाल आदिवासी जनजाति महासंघ रामेछापका अध्यक्ष श्रीबहादुर माझीले कार्यक्रमलाई सम्बोधन गर्दै माझी समुदायको मौलिक जीवनशैली, चाडपर्व, विवाह, मृत्युसंस्कारलगायत परम्परागत अभ्यासबारे प्रष्ट व्याख्या गर्नुभयो। उहाँहरूले पछिल्ला समयहरूमा देखिएको सांस्कृतिक विचलन र बाह्य प्रभावका कारण मौलिक संस्कारहरू हराउँदै गएका विषयमा चिन्ता व्यक्त गर्दै संरक्षणमा समुदायकै अग्रसरता जरुरी रहेको धारणा राख्नुभयो।
वडाध्यक्ष तथा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले वडा नं. ८ मा बसोबास गर्ने माझी समुदायको सांस्कृतिक सम्पदा जोगाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले वडास्तरीय नीतिगत व्यवस्था तथा कार्यक्रममार्फत परम्परागत ज्ञान, व्यवहार र चिन्तनको पुनःस्थापना गरिने जानकारी दिनुभयो।
कार्यक्रममा मझे सावा, नेपाल माझी उत्थान संघ, महिला उत्थान संघ, विद्यार्थी उत्थान संघका प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्यहरूको समेत उपस्थिति थियो। उनीहरूले समुदायको सशक्तीकरणसँगै सांस्कृतिक उत्तराधिकारलाई जगेर्ना गर्न आवश्यक रणनीति र नीतिगत हस्तक्षेपका विषयमा समेत धारणा राखेका थिए।
कार्यक्रमले माझी समुदायको मौलिकता संरक्षणका लागि साझा प्रयास र ऐक्यबद्धता आवश्यक रहेको सन्देश दिएको छ। सहभागीहरूको भनाइमा, यस्तो खालको पहलले समुदायभित्र चेतना अभिवृद्धि गर्नुका साथै भावी पुस्तामा संस्कार हस्तान्तरण गर्न मद्दत पुग्नेछ।