काठमाडौँ । भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने एकपक्षीय सम्झौताको विरोधमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले राजधानीमा मसाल जुलुस निकालेको छ ।
शुक्रबार बेलुकी त्रिचन्द्र क्याम्पसबाट सुरु भएको जुलुसमा सहभागी विद्यार्थीहरूले ‘लिपुलेक हाम्रो हो’ लगायतका नारासहित सडक प्रदर्शन गरेका थिए । नेविसंघले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको अविभाज्य भूभाग भएको भन्दै विदेशी शक्तिबाट हुने अतिक्रमण र सम्झौताको चर्को विरोध जनाएको छ ।
भारत र चीनबीच नेपाललाई बेवास्ता गरी भएको व्यापारिक सम्झौता नेपाली भूमिस्वाधीनतामाथिको आघात भएको नेविसंघले चेतावनी दिंदै सरकारलाई यसबारे कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।









