रामेछाप । रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखु–३ जलविद्युत आयोजना ( स्वेतगंगा हाइड्रोपावर)को दादागिरीका कारण स्थानीय आतङ्कित भएका छन् । जलबिधुत आयोजनाले बिना सूचना आफू अनुकूल खोला सुकाएर ड्याम थुन्ने र खोल्ने गर्दा स्थानीय आतङ्कित भएका छन् । सूचना जारी नगरी आफू अनुकूल ड्याम खोल्दा जलाउँदै गरेको लास समेत खोलाले बगाउने गरेको छ ।
मङ्गलवार साँझ नदिकानिरमा जलाउँदै गरेको शव जलबिधुत आयोजनाले एक्कासि पानी खोल्दा बगाएको छ । ओखलढुङाको साबिक गाम्नाङटार गाविस अध्यक्ष कृष्ण भट्टराईको मङ्गलवार साँझ ७ बजेको समयमा जलाउँदै गरेको लास आफन्तले अन्तिम संस्कार गर्न नपाउँदै बगाएको छ । एक्कासि नदिमा ठुलो भेल आएपछि मलामीहरू भागेर ज्यान जोगाउन सफल भए भनी लास बगाएर लगेको छ ।

एकासी ठुलो नदी आयो हामी सबै लास छाडेर भागेर आफ्नो ज्यान जोगाउन सफल भयौ । पछि लास धेरै समय सम्म खोज्यौ तल तल सम्म पुगेर भेट्न सकेनौँ मलामी गएका लालप्रसाद भट्टराईले भने । यो एउटा प्रतिनिधि मूलक घट्ना मात्र हो यस्तो घट्ना धेरै पटक भइसक्यो उनले भने ।
गाम्नाङटारका भट्टराईहरूको घाट लिखु गाउँपालिका–६ को तीतो खानी भन्ने ठाउँमा रहेको छ । डुँडे खोलाको दोभानमा रहेको उक्त घाटमा लास जलाउने क्रममा आयोजनाले पानी छाडेको हो । स्वेतगंगाले यसअघि नियमानुसार छाड्नुपर्ने १० प्रतिशत पानीसमेत नछाडेर हिउँदमा खोला सुकाएको र बालीनाली समेत मरेको तथा जलचरहरू मरेको भन्दै लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले अनुगमनका क्रममा कारबाहीको चेतावनी दिए पनि मनपरी कायमै रहेको छ ।
आयोजनाका प्रमुख रवीन्द्र तिमिलसिनाले भने कुनै पनि स्थानीयको गुनासो आयोजना प्रति नरहेको बताएका छन् । उनले भने जलाउँदै गरेको लास यदि ड्यामको पानी खोल्दा बगाएको भए हामीलाई जानकारी हुन पर्ने हो त्यस्तो कुनै पनि प्रकारको जानकारी हामी सँग आएको छैन पराजुलीले भने ।
स्थानीयले भने आयोजनाको विरोध हामीले गर्न सक्ने अवस्था छैन । समाजका अगुवा भन्ने सबै मिलेका छन् । आयोजनाको विरोध गर्यो भने हामी यो ठाउँमा बस्न सक्ने अवस्था छैन । खोलामा गाईबस्तुले खान समेत नरहने गरी सबै पानी ड्याममा हुल्छ । खेत बारीमा लगाउन त परको कुरा हो खेतीयोग्य जमिन बाँझो हुन थालिसक्यो । आयोजनाले कतिखेर पानी खोल्छ र सिचाइ गरौँ भन्ने अवस्था छ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विना सूचना ड्याम बन्द गर्न वा खोल्न नमिल्ने भन्दै यदि बिना सूचना बिद्युत् गृहले ड्याम खोल्ने र बन्द गर्ने गरेको हो भने यस विषयमा आयोजना सँग कुरा गर्ने र आवश्यक परे कार्वाहिको दायरामा समेत ल्याउने बताइन् । साथै जलविद्युत आयोजनाले पानी कम्तीमा १० प्रतिशत जुनसुकै समयमा पनि छाड्न पर्ने भएकोले नछाडेको हो भने आफू ओखलढुङ्गा सँग सहकार्य गरेर कानुनी प्रक्रियामा अघि बढाउने बताइन् ।