काठमाडौँ । कतारका राजा शेख तमिम विन हमाद अल थानीलाई इजरायलमा हमासको आक्रमण पश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार उनीहरूसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलवार अपराह्न नेपाल आएका हुन् । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्त्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।