काठमाडौँ । अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूलाई एक पटक स्वतः स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले सङ्घ, प्रदेश र स्थानीय सबै तहमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको रोजगारी ग्यारेन्टी सहित श्रेणीविहीन पदहरूमा कार्यरत सम्पूर्ण करार, ज्यालादारी कर्मचारीहरूलाई एक पटकको लागि स्वतः स्थायी गर्ने व्यवस्था मिलाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाइएको हो ।
आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नेदेखि प्रतिस्पर्धाबाट स्थायी हुन नसक्ने कर्मचारीलाई गोल्डेन हेन्ड चेकको व्यवस्था माग गरेको छ । त्यस्तै श्रमिक सङ्घले अस्थायी कर्मचारीलाई अवकाश हुँदा एक ग्रेड थप, सामाजिक सुरक्षा कोषमा आबद्धता, ठेक्काबाट कर्मचारी राख्ने व्यवस्थाको अन्त्य, खारेजीमा परेका कार्यालयका कर्मचारी व्यवस्थापन तथा उपदान र कार्य सम्पादन मूल्याङ्कनलगायतका आधारमा नियुक्ति दिनेलगायतका विभिन्न ८ वटा मागहरू राखेको छ ।