रामेछाप । सदियौ देखी तामाकोशी र सुनकोशी नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरुमा बर्षात शुरु भएदेखी बर्षात नसकुन्जेल उनीहरुको रातको निद्रा हराउने गरेको छ ।
नदी किनारमा बसोबास गर्ने नागरिकलाई लक्षित गरेर छिमेकी जिल्ला दोलखाको च्छो रोल्पा हिमताल फुट्नसक्ने भन्दै करिव १५ वर्षअघि सरकारले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सूचना दिने साइरन जडान गरेको थियो । उक्त साइरन सरकारले संरक्षण गर्न नसक्दा अहिले ती साइरनको नाम निसाना समेत छैनन् । जसका कारण नदी तटीय क्षेत्रमा वस्ने नागरिकहरुलाई सरकारले वर्षातको समयमा नदीमा पानीको वहाव बढ्दा सर्तक रहन रेडियो, टेलीभिजन, अनलाइन जस्ता संचारमाध्यमवाट सूचना जारी गरेता ती सूचना सबै क्षेत्रमा पुग्न नसकेको मन्थली नगरपालिका–६ भलुवाजोरका नवराज माझीले जानकारी दिए ।
उनले भने– नदी तटिय क्षेत्रमा कतीपय स्थानमा टेलीफोन नेटर्वक नटिप्ने, रेडियो लगाएतका संचारमाध्यम समेत नसुनिने समस्या रहेको छ । जसकोकारण धेरै नागरिकहरुले रातको समयमा कोशीको वहाब बढे नबढेको हेरेर सुत्नु पर्ने वाध्यता रहेको छ । सरकारले नदी तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकहरुलाई लक्षित गरी नदीको वहाव बढ्दा साइरन बज्ने व्यवस्था गरिदिनुपर्ने माग माझीले गरेका छन् ।
वर्षातमा आएको बाढीले बर्षेनी नदी तटीय क्षेत्रको हजारौ रोपनी जमीन समेत कटान गर्दै आएको छ । यसलाई रोक्न सरकारले नत स्थानिय तहका जनप्रतिनिधिहरुले नदी तटिय क्षेत्र आसपासका नागरिकको बस्ती संरक्षण गर्न कुनै चासो नदिएको मन्थली नगरपालिका–२ का जनक खत्रीले जानकारी दिए ।
उनले भने– हामी नदी किनारमा घर हालेर वस्ने नागरिकहरु वर्षेनी जोखिम मोलेर वस्न वाध्य छौं । सरकारले नदी तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकहरुको जीउँ ज्यानको सुरक्षाको लागि वस्ती छेउमा तटवन्धन गरिदिनुपर्ने हो । यसतर्फ अहिलेसम्म ध्यान नजानु दःखुद कुरा भएको खत्रीले बताए ।
रामेछापको तामाकोशी नदी अन्तर्गत खिम्ती,पन्थली, तिल्पुङ, करम्वोट, जखनीटार, गाइखुरा, आकाशे, हाटेचौर,मुगिटार, कुनौरी, रजगाउँ, सेलेघाट नदी तटिय क्षेत्रका नागरिकहरु वर्षातको समयमा त्रसित हुनुपर्ने अवस्था छ । त्यसैगरी सुनकोशी नदीको तटीय क्षेत्र अन्तर्ग पुछिघाट, डफ्का, कोथवे, वेलघारी लगाएतका नदीको तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकहरु समेत वर्षातमा त्रसित हुनुपर्ने अवस्था रहेको छ ।