खुर्कोट–मन्थली–खिम्ती सडक खण्डमा राती सवारी नचल्ने
मन्थली- खुर्कोट–मन्थली–खिम्ती सडक खण्डमा आइतबारदेखि रातीको समयमा सवारी सञ्चालन गर्न नपाइने भएको छ । लगातारको वर्षाले बाढी–पहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले सो सडक खण्डमा शुक्रबारसम्मका लागि रात्रीकालिन सवारी चल्न रोक लगाएको हो ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएको छ । यो अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी बाहेक सबै सार्वजनिक र निजी यात्रुवाहक गाडी चलाउन नपाइने सूचनामा उल्लेख छ । कार्यालयले यात्रुहरूलाई यसले हुने असुविधाका लागि क्षमायाचना समेत गरेको छ।









