सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीलाई कारबाही सिफारिस गरिएको छ ।
२३ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको नेतृत्वमा गठित समितिले कारबाही सिफारिस गरेको हो । विक सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका बासिन्दा हुन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार समितिले एक जनालाई सचेत, दुई जनालाई ध्यानाकर्षण, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एक जनालाई नसिहत तथा एक जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरेको छ ।
समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राख्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन गर्न तथा डिउटीका समयमा नियमित निगरानी सुनिश्चित गर्न सुझाव दिएको छ ।









