रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सामुदायिक विद्यालयहरुमा विद्यार्थी भएपनि खेलकुद पूर्वाधार नभएका विद्यालय सधै अपुरो हुने बताएका छन् ।
सो कुरा उनले बिहिवार सुनापति गाउँपालिकाद्धारा हिलेदेवीमा आयोजित विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता उद्घाटनको क्रममा बताएका हुन् । उनले देशभरका विद्यालयहरुमा विद्यार्थी प्रयाप्त भएता पनि खेलकुदको लागि कुनै पनि पुर्वाधार बन्न नसक्नु दुःखद भएको बताए । खेलकुद पूर्वाधारको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारले आवश्यक वजेट विनियोजन गरेर खेलकुद क्षेत्रलाई अघि वढाउनु पर्ने धारणा राखे ।
त्यसैगरी उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुरै घण्टी पढाउनु भन्दा कुनै एक घण्टी खेलकुद क्षेत्रको लागि समय छुट्टाउनुपर्ने बताए । अहिले विद्यालयको पुरै समय विद्यार्थीलाई पढन् मात्र लगाइने गरिएको छ । जसले गर्दा खेलकुद क्षेत्रमा विद्यार्थीहरु पछाडी परेका छन् । विद्यालयमा पढाईको अलावा एक घण्टी खेलकुदको लागि छुट्टाउन आवश्यक पहल गर्ने बताए ।
त्यस्तै खेलकुद क्षेत्रमा स्थानिय तहले गर्नुपर्ने काम धेरै बाँकी रहेकाले स्थानिय तहले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए । जिल्लामा हालसम्म एउटा पनि सुविधा सम्पन्न कबड हल र खेलकुद मैदान नहुँदा खेलाडीहरुले अभ्यास र खेलकुद गतिविधि गर्न नपाएको भन्दै यस चालु आर्थिक वर्षमा आफ्नो पहलमा राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला सदरमुकाम मन्थलीमा खेलकुद मैदान निमार्णको लागि १ करोड र सुनापति गाउँपालिकामा कबड हल निमार्णको लागि १ करोड रुपैयाँ वजेट विनियोजन गरेको बताए ।
उनले भने– परिषद्ले छुट्टाएको वजेट प्रयाप्त छैन । त्यसैले थप वजेटको लागि आफुले पहल गर्ने भन्दै खेल मैदान र कबड हल निमार्णको लागि आवश्यक जग्गा प्राप्ती पछि तत्काल निमार्णको काम अघि वढाउने बताए । खेल क्षेत्रको लागि सुनापति गाउँपालिको माग गरे अनुसार आफुले खेलकुद सामाग्री प्रदान गरेको र आवश्यक परे थप सामाग्री समेत उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यस्तै सोही कार्यक्रमका विशेष अतिथि एवं सुनापति गाउँपालिका प्रमुख ठूलोकान्छा तामाङले पालिकाले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताए । उनले भने– अधिकासं सामुदायिक विद्यालयहरुमा खेलकुद मैदानको अभाव छ । केही विद्यालयमा खेल मैदान भएता पनि प्रशिक्षक नहुँदा सोचेजस्तो विद्यार्थीहरुले खेल खेल्न सकेका छैनन् । खेलकुद क्षेत्रको लागि पालिकाले आवश्यक वजेट विनियोजन गर्ने र खेलकुद परिषद्वाट प्राप्त वजेटवाट कवड हल निमार्णको लागि जग्गाको व्यवस्थापनको लागि आफु लागि परेको बताए ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष होमराज खपाङ्गी मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष प्रेमसागर थापा, सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता बिष्ट लगाएतको उपस्थिती रहेको थियो । विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सुनापति गाउँपालिकाका १२ वटा विद्यालयको सहभागीता रहेको उक्त कार्यक्रम २८ गते समापन हुने सुनापति गाउँपालिकाले जनाएको छ ।