रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्।
स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा एक्कासी आगो सल्किएको थियो। प्रहरीका अनुसार आगोको कारण गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछाप अन्तर्गत प्रहरी चौकी बेथानसित्खाका प्रहरी हवलदार कामेश्वर यादवको नेतृत्वमा गएको टोलीले प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १ लाख ४ हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।
खाँडादेवी क्षेत्रमा हालसम्म मनसुन प्रवेश नगरेको र अत्यधिक गर्मी बढिरहेका कारण आगलागीको जोखिम उच्च रहेको स्थानीयवासीको भनाइ छ। प्रहरीले आगलागीको कारणबारे थप अनुसन्धान गरिरहेको छ।