रामेछाप— ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनमा थप कडाइ गरिने भएको छ। खाँडादेवी विकास कोषको तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मन्दिर क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउने तयारी अघि बढाएको हो।
कोषका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा कोषका पदाधिकारी, सदस्य र सल्लाहकार समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकले साधारण सभामा गरिएको खर्चलाई स्वीकृति दिएको छ भने कोषका अन्य प्रशासनिक तथा व्यवस्थापकीय विषयमा पनि निर्णय लिएको छ।
कोषका आजीवन सदस्यहरूको अभिलेखीकरणलाई व्यवस्थित गरिने। मन्दिर परिसरमा छाडा चौपाया छोड्न प्रतिबन्ध लगाइने। मन्दिर परिसरको बगैँचा सुन्दर ढंगले व्यवस्थापन गरिने। पर्खालसँग रहेका टहरामा पूजाका सामग्रीबाहेक अन्य कुनै सामग्रीको बिक्री निषेध गरिने। पुजारीले मन्दिर क्षेत्रबाहिर मादक पदार्थ सेवन गरेमा निष्कासन गरिने। निर्माणाधीन अस्थायी प्रहरी पोस्ट भवन छिटो सम्पन्न गरी प्रहरीको बसोबासको व्यवस्था मिलाइने। क्तजनहरूले चढाएको नगद तथा गहनाको अभिलेखीकरण गरिने।
बैठकपछि अध्यक्ष तामाङले “खाँडादेवी मन्दिरको धार्मिक गरिमा जोगाउँदै परिसरलाई सुरक्षित, सफा र व्यवस्थित बनाउने अभियानलाई थप सुदृढ बनाउने” प्रतिबद्धता व्यक्त गरे।
खाँडादेवी मन्दिरलाई शक्ति पीठका रूपमा चिनिन्छ। यसको उल्लेख शिव पुराण र देवी भागवतजस्ता धार्मिक ग्रन्थहरूमा पनि पाइन्छ। वि.सं. २०७० मा स्थापना भएको खाँडादेवी विकास कोषले मन्दिरको पुजारी व्यवस्थापन, बलि प्रबन्ध, भक्तजनको सेवा सुविधा, संरचना निर्माण, र प्रचार–प्रसारमा निरन्तर काम गर्दै आएको छ।