रामेछाप । प्रतिनिधिसभा एक र प्रदेश सभा २ वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
नेपाली काँग्रेसको शनिवार पार्टी सभापति पूर्णबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले पार्टी सभापति सहित पाँच जनाको नाम प्रतिनिधिसभा सदस्यमा र ९ जनाको नाम समानुपातिक तर्फ जिल्लावाट सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव दीपक खड्काले जानकारी दिए ।
उनका अनुसार काँग्रेसले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ पार्टी सभापति पूर्णवहादुर तामाङ (कान्छाराम), पूर्व पार्टी सभापति रामचन्द्र खडका, कुमार श्रेष्ठ, एकराज बस्नेत र नारायण बहादुर बोगटीको नाम जिल्लावाट सिफारिस गरी केन्द्रमा पठाएको छ ।
त्यसैगरी संघको निर्वाचन अन्तर्गत समानुपातिक तर्फ पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा, ग्याल्जे लामा (शेर्पा), पुर्व महाधिवेशन प्रतिनिधिहरु मुक्त बहादुर महते, डा.सुमन कर्माचार्य र विद्यासागर योञ्जन रहेका छन् । त्यसैगरी समानुपातिक तर्फ नै सुरेन्द्र कुमार घिसिङ, हिमाल दास श्रेष्ठ, मञ्जु पुर्वे र शुसिला मिश्र रहेका छन् ।
यसैगरी दुईवटा प्रदेश सभा रहेको रामेछापमा नेपाली काँग्रेसवाट ६४ जनाको नाम प्रदेश सभा सदस्यको लागि पार्टीले सिफारिस गरेको छ । प्रदेश सभाको लागि पार्टीवाट धेरै नेताहरुले आकाक्षा राखेपछि पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत नाम सिफारिस गर्न सकेन । जसका कारण पार्टी कार्यालयमा उम्मेदवारले पेश गरेजति सबैको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।