काठमाडौं, २२ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो।
बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसरी बोनस र नगद लाभांश जोड्दा सेयरधनीले कूल १५.७८९५ प्रतिशत लाभांश प्राप्त गर्ने भएका छन्।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन्। लाभांश वितरणसँगै बैंकको चुक्ता पुँजी थप बलियो हुने र लगानीकर्ताको मूल्य वृद्धिमा टेवा पुग्ने बैंकको विश्वास छ।
कामना सेवा विकास बैंकले पछिल्ला वर्षहरूमा शाखा विस्तार, डिजिटल सेवा प्रवर्द्धन र ग्राहकमैत्री बैंकिङ प्रणालीलाई प्राथमिकतामा राख्दै आएको छ। लाभांश घोषणाले बैंकको संस्थागत स्थायित्व र सेयरधनीको विश्वास दुवैलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।









