काठमाडौं । नेपाली कांग्रेसले १४ औं अधिबेशनमा बिधान संशोधन गर्दै नयाँ नियम ल्याएको छ । यस पटकको अधिबेसनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्न पाउने गरी विधानमा संशोधन गरेको छ ।
१३ औं महाधिबेसन सम्म सबै क्रियासिल सदस्यहरुले अधिबेसनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमितिमा मतदान गर्ने ब्यवस्था रहेको थियो । विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले उक्त निर्णय गरेको हो । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो ।
सभापतिबाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि बन्न पाउँछन् । यसका लागि मतदाता भने वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर÷उपमहानगर÷महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने,’ कांग्रेसले भनेको छ । यो संशोधनलाई आगामी महाधिवेशनबाट अनुमोदन गर्ने कांग्रेसको तयारी छ ।
नेपाली कांग्रेसको महाधिवेशन गराउने निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिका केन्द्रीय सदस्यहरुको सुझाव समेट्ने गरी पारित भएको छ । नेपाली कांग्रेसले समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई परिमार्जनको जिम्मा दिएको छ । उनीहरुले भदौ १ गते निर्देशिकामा परिमार्जन गरेर भदौ २ गते पार्टी सभापतिलाई बुझाउनुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबार कार्यतालिका सार्वजनिक गरेको छ । छैटौं पटक सार्वजनिक कार्यतालिकाका अनुसार वडा अधिवेशन भदौ १८ गते हुनेछ भने पालिका अधिवेशन भदौ २७ र प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते हुने छ ।