काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८३ सालको मंसिरभन्दा अघि नै गरिनुपर्ने बताएका छन् । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्दै थापाले संवैधानिक र कानुनी हिसाबले पनि मंसिरपछि महाधिवेशन गर्न सकिने अवस्था नरहने स्पष्ट पारे । ‘मंसिरअघि नै सकेसम्म चाँडो महाधिवेशन गर्यौं भने पार्टीलाई आन्तरिक रूपमा तयारी गर्न सहज हुन्छ’, उनले भने ।
थापाले महाधिवेशनको पक्ष र विपक्षमा नेताहरू छुट्टिएको जस्तो भ्रम नफैलाउन पनि आग्रह गरे । ‘कोही महाधिवेशन गर्न चाहन्छन्, कोही चाहँदैनन् भन्ने प्रचार भइरहेको छ, तर त्यस्तो होइन,’ उनले भने, ‘हामी सबै महाधिवेशन समयमै होस् भन्नेमा सहमत छौं ।’
क्रियाशील सदस्यता नवीकरणको विषयमा बोल्दै उनले पार्टीका नेताहरूलाई आफ्नै क्षेत्रको सदस्यता स्थिति बुझेर काम गर्न आग्रह गरे । उनले काठमाडौं–४ मा सदस्यता नवीकरण पहिल्यै सकिएको उदाहरण दिँदै अन्य नेताहरूलाई पनि सक्रिय हुन भने ।
थापाका अनुसार नयाँ सदस्यता वितरण गर्दा समुदाय, मतदाता संख्याजस्ता कुरालाई आधार बनाइनेछ । ‘उदाहरणका लागि चितवनले सबैभन्दा बढी सदस्यता नवीकरण गरेको छ,’ उनले भने, ‘अब संघीय निर्वाचनको परिणामसमेत आधार बनाएर अगाडि बढ्न सकिन्छ ।’
महाधिवेशनबारे बाहिर भ्रम नफैलाउन अनुरोध गर्दै थापाले भने, ‘पार्टीका नेताहरूले महाधिवेशनबारे कुनै तयारी छैन भन्ने कुरा बाहिर नबोल्नुस्, छलफल गर्नुपर्ने भए सभापति वा नेतृत्वसँगै कुरा गर्नुपर्छ ।’









