काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् ।
एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल भएको छ । साथै, दुई अध्यक्ष राखेर पहिलो वरियतामा राउत र दोस्रोमा श्रेष्ठलाई राख्ने विकल्पमा पनि छलफल भएको छ ।
पार्टीको संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । चौधरी अहिले पनि नाउपाका संरक्षक हुन् । नाउपाले एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्न प्रस्ताव गरेको र त्यसलाई सकरात्मक रूपमा लिएको जनमतका प्रवक्ता एवं एकताका लागि गठन गरिएको कार्यदलका सदस्य शरदसिंह यादवले जानकारी दिए । एकीकृत पार्टीले नाउपाको ‘ढकिया’ लाई चुनाव चिह्न बनाउने गरी छलफल अगाडि बढाएका छन् । जनमतको चुनाव चिह्न ‘हर्न’ हो ।
एकताका लागि नाउपाले बनाएको कार्यदलका संयोजक गंगाराम चौधरीले दुवै पक्षका प्रस्तावमा छलफल गरेर छिट्टै सहमतिमा पुगिने जानकारी गराए ।