शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सोमबार एक सुचना जारी गरी शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको जनाएको छ । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवामा रोक लगाएको सुचनामा उल्लेख गरेको छ । हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए । उनले भने हामीले सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई जिल्लान्तर सरुवा रोक्का गरिएको जानकारी दिदै परिपत्र गरेका छौं ।
दरबन्दी मिलानको काम सम्पन्न गर्न अझै केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको कोइरालाले बताए । केन्द्रको पूर्वअनुमति लिएकाको हकमा भने जिल्लान्तर सरुवा गर्न पाइने छ ।