रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको लापर्बाहीले जिल्लामा कोरोना संक्रमणको जेखिम दैनिक रुपमा बढदै गएको छ । पछिल्लो पटक रामेछापमा कोरोना संक्रमितहरुको संख्यामा बृद्धि आएसंगै सम्बन्धित निकायहरुले संक्रमण रोकथाममा चासो समेत नदिदा संक्रमणको जोखिम बढदै गएको हो ।
जिल्लाका विभिन्न बजार क्षेत्रमा देखिने खुलम खुला भिडभाड र जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाहरु मार्फत दिनहु जसो हुने गरेको तालीम र गोष्ठि तथा राजनैतिक कार्यक्रमहरुलाई समेत स्थानीय प्रशासनले नियन्त्रण गर्न नसक्दा जिल्लामा संक्रमणको जोखिम अझ बढदै गएको हो ।
विश्वव्यापी रुपमा बढदै गरेको कोरोनाको प्रकोपको मार जिल्लासम्म आइपुग्दा संक्रमितको संख्या दैनिक बढदै गएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय रामेछापसँग रहेको छ । केही दिन अघि जिल्लाबाट २२ जनाको स्वाब लिइ परिक्षण गर्न पठाएको मध्ये बुधबार १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस अघि पनि जिल्लामा संक्रमित १२ सहित २६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । जिल्लाको सावधानीको अवस्थालार्ई हेर्ने हो भने संख्या बढन सक्ने उनको भनाइ छ ।
दैनिक रुपमा संक्रमित बढदै गएपछि अतालिएका सर्वसाधरणहरुले स्थानिय प्रशासनको लापर्बाहीका कारण जिल्लाको अवस्था भयावह हुदै गएको गुनासो गर्ने गरेका छन । बजारमा हुने भिडभाड तथा ठुलो संख्यामा मानिसहरुको उपस्थितिमा हुने कार्यक्रमहरु रोक्न नसक्दा संक्रमण फैलन सक्ने भएपछि स्थानियहरुले चिन्ता व्यक्त गरेका छन ।
पछिल्लो समयमा कोरोना संक्रमितको बृद्धि संगै सदरमुकाम मन्थलीको मुख्य बजारमा देखिने भिड्भाड र बिभिन्न कार्यक्रममा सरकारी मन्त्री तथा राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती नियन्त्रण हुन नसक्दा त्यसको असर सर्वसाधरणमा पर्न सक्ने नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताए । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापले बैशाख १० गते शुक्रबार प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुको अध्यक्षतामा बैठक बसी जिल्ला भित्र कुनै पनि प्रकारको सभा समारोह गर्न नपाउने लगाएत २१ बुदे निर्णय गरेको थियो ।
२१ बुदे निर्णय आएको भोलिपल्ट ११ गते नवजागरबण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सय भन्दा बढी मानिसहरु सहभागी भएर भबनको उद्घाटन गरियो तर जिल्ला प्रशासन कार्यालयले धेरै मानिसको भिडभाड हुने उक्त कार्यक्रम रोक्न भने सकेन ।
यसैबीच १३ गते जिल्लामा संक्रमणको जोखिम बढीरहदा नेकपा एमाले रामेछापले जिल्लाको सांगठानिक बैठक तथा सपथ ग्रहण कार्यक्रम सयौंको संख्यामा कार्यकर्ता भेला गरेर धुमधाम संग गरेता पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर जतिकै बन्यो । उक्त कार्यक्रममा सहभागी भएका केहि नेताहरुमा अहिले कोरोना संक्रमण पुष्टि भएको छ । जुन कार्यक्रममा सयौंको संख्यामा गाउँगाउ बाट नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।
यसैबिच नेकपा एमालेका केहि नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल मार्फत होमक्वारेन्टाइनमा बस्न समेत आहवान गरिसकेका छन् । यस्तो स्थितीमा पनी जिल्ला प्रशासन कार्यालय आफैले लापर्वाही गर्दा गाउँगाउमा कोरोना संक्रमण फैलन सक्ने भन्दै स्थानियले गुनासो गरेका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु आफै संयोजक रहेको राष्ट्रिय जनगणना कार्यलय मन्थलीले राष्ट्रिय जनगणना २०७८ अन्तर्गत आजबाट जिल्लामा सञ्चालन गरेको सुपरिवेक्षक तालीममा आफै सहभागी भएर तालीम सञ्चालन गराए ।
यता राष्ट्रिय जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाले समेत जिल्ला प्रशासन कार्यलयको सहमतीमा तालीम सञ्चालन गरिएको बताए । बिहिबार मात्रै चार स्थानमा १ हप्तासम्म सञ्चालनहुने सुपरिवेक्षक तालिम शुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शैजुले भने आफुलाई केन्द्रले तालिम नरोक्नु भन्ने निर्देशन गरेको कारण सामाजिक दुरी कायम गराएर तालिम सञ्चालन गरेको बताएका छन् तर तालिम प्रजिअ शर्माले भने जस्तो भएको थिएन ।