रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार भई पराजित बनेका नेकपा एमालेका नेता तुलप्रसाद कडेल लगाएत १३ जना सदस्यले निर्वाचन आयोगले तोकेको समय बितिसक्दा समेत निर्वाचन खर्च बुझाएका छैनन् ।
जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार बनेका १८ जना मध्ये ५ जनाले खर्चको बिवरण समयमा नै प्रदेश निर्वाचन कार्यालयमा बुझाएको भएता पनि अन्य उम्मेदवारहरुले बिवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर कुमार शाहले जानकारी दिए ।
निर्वाचन खर्च नबुझाउनेमा जिल्ला समन्वयमा उम्मेदवारी दिएका अधिकासं नेकपा एमाले तर्फका उम्मेदवार रहेका छन् । जसमा समन्वय प्रमुख र उपप्रमुखका उम्मेदवारी दिएका तुल प्रसाद कडेल, सुनिता सुनुवारले हालसम्म निर्वाचन खर्च बुझाएका छैनन् । त्यसैगरी निर्वाचन खर्च नबुझाउने एमालेका अन्य सदस्यहरुमा कृष्ण बहादुर सार्की, भोजराज कडरिया र बालाकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा सुमित्रा राई (सुनुवार), सिर कुमारी श्रेष्ठ, उर्मिला मुङराती र अल्पसंख्यक सदस्यका उम्मेदवार लाछिरी शेर्पा रहेका छन् ।
यसवाहेक गठवन्धनका नेकपा माओवादी केन्द्र तर्फका जिल्ला समन्वय समितिका सदस्य पदमा उम्मेदवारी दिएका विक्रम थापामगर, हिराकुमारी गिरी, डम्वर कुमारी रसाइली र अल्पसंख्यक सदस्यमा उम्मेदवारी दिएका विन्दा सार्कीले पनि निर्वाचन खर्च विवरण अहिलेसम्म नबुझाएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा भाग लिई उम्मेदवार वनेका उम्मेदवारले आफु उम्मेदवार भएको ७ दिनभित्र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने र सबै खर्चको बिवरणहरु प्रदेश जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा बुझाउनु पर्ने प्रावधान रहेको छ । त्यस्तै उम्मेदवारहरुले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ वमोजिम निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएता पनि रामेछापमा भने कार्यान्वयन नभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार समयमा नै निर्वाचन खर्च बुझाउनेहरुमा नेपाली काँग्रेसको तर्फबाट समन्वय प्रमुखका उम्मेदवार बनेकी चिना कार्की र उप–प्रमुख पदमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापाले समयमा नै निर्वाचन खर्च बुझाएका छन् । त्यसैगरी नेपाली काँग्रेसको तर्फवाट समन्वय सदस्यमा उम्मेदवारी दिएका बीरवहादुर कार्की, बाबुलाल योञ्जन र अनिषा माझीले निर्वाचन खर्च समयमा नै बुझाएको निर्वाचन आयोगले जनाएको छ ।