जब सिडियो नै यात्रु बनेर भाडा सोधेपछि….
मन्थली -दोलखाका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले आफैँ यात्रु बनेर सार्वजनिक सवारीसाधनहरुको अनुगमन सुरु गर्नु भएको छ । दशैँको मौका छोपी सवारी भाडा तोकिएभन्दा बढी लिएको गुनासोपछि प्रजिअको टोलीले सोमबारदेखि छड्के अनुगमन सुरु गरेको हो ।
उहाँले चाडपर्वमा यात्रुको चाप बढेसँगै यसैको फाइदा उठाएर बढी भाडा असुल्ने गरेको पाइएकोले त्यसलाई नियन्त्रण गर्न आफैँ यात्रु बनेर अनुगमन गरेको बताउनु भयो । यसले पीडित यात्रुलाई प्रशासनको प्रत्याभूति मिल्ने मात्रै होइन यातायात क्षेत्रको बेथिति रोकथाम हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो । दाहालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु दादा पोशाकमा यात्रु बनेर अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा तोकिएको भन्दा दोब्बर भाडा लिएको पाइएपछि एक दर्जन बढी सवारीलाई कारबाही गरिएको छ । प्रजिअ दाहालका अनुसार उनीहरुलाई फेरि यस्तो नगर्नु भनी निर्देशन दिदैँ यात्रुबाट असुलिएको बढी भाडा फिर्ता गराइएको छ । अनुगमनकै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा सवारी चालक सहचालकले प्रजिअ अधिकारीलाई सवारी यात्रु ठानेर काठमाडौँको भाडा एक हजार लाग्ने बताएका छन् । उनीहरुले ति यात्रु बनेका व्यक्ति प्रजिअ दाहाल हो भनेर पत्तै पाएका छैनन् । निर्धारित भाडादर अनुसार चरिकोट देखि काठमाडौँको सम्म बसको भाडा ५ सय ३०, सुपर बसको ६ सय ५० र इभी/सुमोको ७ सय ५० रुपैयाँ हो । तर चाडपर्वको मौका छोपेर बढी भाडा असुलिरहेको गुनासो छ ।









