काठमाडौँ । नेपाल प्रहरीले जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उप त्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथै केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए ।