सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा अधिकारकर्मी र युवाहरूले विरोध प्रदर्शन गरेका छन्। पीडितलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शनकारीहरूले दलित समुदायमाथि भइरहेका शृङ्खलाबद्ध हिंसा र महिला हिंसा अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
गत फागुन २३ गते ट्युसन पढ्न गएकी इनिशा सुर्खेतको स्थानीय सामुदायिक वनमा रगताम्य र बेहोस अवस्थामा फेला परेकी थिइन्, जसलाई अस्पताल पुर्याउनासाथ मृत घोषणा गरिएको थियो। यस जघन्य अपराधको आरोपमा प्रहरीले हालसम्म ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सामाजिक सञ्जालमा समेत ‘जस्टिस फर इनिशा’ अभियान चर्किएको छ भने माइतीघरमा जम्मा भएकाहरूले दोषीलाई उन्मुक्ति नदिन र निष्पक्ष छानबिन गर्न माग गर्दै दीप प्रज्वलन समेत गरेका छन्।









